कोरोना भाइरस : करिब चार लाखको मृत्यु, ३२ लाख मानिस निको भएर फर्किए



 

 

काठमाडौँ–विश्वव्यापी कोरोना भाइरसबाट संक्रमित विश्वका ३२ लाख मानिस निको भएर घर फर्किएका छन् । वर्ल्डओमिटरका अनुसार शुक्रबार बिहानसम्ममा विश्वभर ३२ लाख २८ हजार ६६६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका हुन् । कोरोना भाइरसबाट हालसम्म विश्वमा तीन लाख ९२ हजार १२५ जनाले ज्यान गुमाएका छन् ।

विश्वभरका अहिलेसम्म ६६ लाख ८९ हजार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये अहिले ३० लाख ६८ हजार २ सय ७३ जना उपचारको क्रममा छन् । उपचारको क्रममा रहेका धेरैको अवस्था सामान्य छ । उपचारको क्रममा रहेका ५५ हजार ३ ७८ जनाको अवस्था मात्रै गम्भीर रहेको वल्र्डओमिटरले जनाएको छ ।

गएको २४ घण्टामा विश्वभर गरेर ५ हजार ३३८ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन् । यस अवधिमा सबैभन्दा धेरै ब्राजिलमा एक हजार ३३७ जनाले ज्यान गुमाएका छन् । मेक्सिकोमा एक हजार ९२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । अमेरिकामा एक हजार ३१ जनाको मृत्यु भएको छ ।

बिहीबार भारतमा २७५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म संक्रमणबाट ६ हजार ३६३ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म दुई लाख २६ हजार ७१३ जनामा संक्रमण पुष्टि भएको छ ।

बिहीबार मात्रै त्यहाँ ९ हजार ८८९ जनामा संक्रमण देखिएको छ । हालसम्म भारतमा एक लाख ८ हजार ४५० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा संक्रमितमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । बाँकी संक्रमितको अवस्था सामान्य रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।