धान खेतीको प्राविधिक पाटो



कृष्ण ढुङ्गेल–

बुद्धशान्ति गाउँपालिका,झापा

धान नेपालको प्रमुख खाद्यान्न मध्ये एक प्रमुख बाली हो ।नेपालमा करिव १४,६९,५४५ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । धान खेतीको सुरुवात दक्षिण पुर्वी एसियामा भएको मानिन्छ । विश्वमा सबैभन्दा धेरै धान खेती गर्ने देश चीन हो भने सवैभन्दा वढी उत्पादन हुने देश पनि चीन नै हो । धान उत्पादनको हिसाबले नेपाल विश्वको १६ औँ स्थानमा पर्दछ । नेपालमा बार्षिक करिव ५२ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको पाइन्छ । धानमा कार्बोहाइड्रेट ,प्रोटिन, फ्याट, मिनरल आदि पौष्टिक तत्व पाइन्छ ।

नेपालमा सवै भन्दावढी उत्पादन हुने अन्नवालीमा पर्ने धान वाली पछिल्लो समयमा रोग किराका कारण बार्षिक हजारौँ मेट्रिक टन क्षति भइरहेको छ । परम्परागत खेती प्रणाली, अत्याधिक रसायनिक मल तथा विषादीको प्रयोग, जलवायु परिवर्तन आदिका कारण पछिल्लो समयमा बर्षेनी रोग र किराको प्रकोप बढिरहेको छ । रोग किरा नियन्त्रण गर्दै उत्पादन र उत्पादकत्व बृद्धि गर्न नसके नेपालमा ठूलो खाद्य संकट नआउला भन्न सकिँदैन । धान खेती गर्ने केहि प्राविधिक विषयहरु वारे तल चर्चा गरिएको छ ।
धानमा ब्याड राख्ने तरिका
नेपालको धान खेती गर्ने किसानहरुले मुख्यत दुर्ई तरिकाबाट ब्याड राखेको पाइएको छ । हिले ब्याड ५० के जी विउ ५०० वर्ग मिटरमा १ हेक्टरमा रोपाइ गर्न पुग्दछ । हिले ब्याड बिशेष गरेर पानी धेरै भएको खेतमा गरिन्छ । हिले ब्याड भएको ठाउमा डढुवा रोगको प्रकोप लाग्ने सम्भावना धेरै हुन्छ । यो बिशेष गरेर तरार्इ क्षेत्रमा गरिन्छ ।

धुले ब्याड ५० के जी विउ ५०० वर्ग मिटरमा जमाउदा यसले १ हेक्टरमा रोपाइ गर्न पुग्दछ । धुले ब्याड बिशेष गरेर पानी कम भएको ठाउमा गरिन्छ । धुले ब्याड भएको ठाउमा मरुवा रोगको प्रकोप लाग्ने सम्भावना धेरै हुन्छ । यो विशेष गरेर पहाडी क्षेत्रमा गरिन्छ ।

बीउको छनौट र उपचार विधि
धानको उत्पादन बढाउनका लागि सवैभन्दा पहिले बीउको छनौट र उपचारमा ध्यान दिनु पर्छ । त्यसका लागि वाल्टी वा भाडोमा पानी भरेर त्यसको पिधमा कुखुराको नबिग्रेको अण्डा राख्ने । त्यो पानीमा खाने नुन थप्दै जाने । अण्डा पानीमा उत्रेपछि नुन थप्न वन्द गर्ने । बीउलाइ उक्त घोलमा २–५ मिनेट जति छाडिदिने। उत्रेका सबै बिउ हटाउने र पिँधमा थिग्रिएको बीउलाई तुरुन्तै सफा पानीमा ३ पटक राम्ररी सफा गर्ने गरी २ ग्राम बेभिष्टिन नामक विषादी राम्ररी चलाएर सबैतिर मिलाउनु पर्छ। यसरी उपचार गरिएको बीउलाई १२ घण्टासम्म भिजाउनुपर्छ । २४–४८ घण्टासम्म ढड्याएर वीउमा अङ्कुरण भएपछि मात्र व्याडमा छर्नु पर्दछ । यसरी बीउ उपचार गरेर धान रोप्दा १० देखि १५ प्रतिशतसम्म उत्पादनमा बृद्धि भएको पाइन्छ । बीउबाट लाग्ने धेरै रोगहरुको निराकरण हुन्छ ।

मौसमः धान यो तातो हावापानी र धेरै सापेक्षित आद्रता भएको ठाउँमा हुने बाली हो । धान खेतीको लागि २०—३० डि.से .को तापक्रम आवश्यक पर्दछ भने ८०–९० सापेक्षित आद्रता आवश्यकता पर्दछ ।
माटोः धान बालीलार्इ उपयुक्त माटो भनेको चिम्टाइलो माटो हो। यसको लागि पि ए च ५ देखि ६.५ भएको माटो उपयुक्त हुन्छ ।

मलखाद ब्यवस्थापन
धान बालीको सिंचित क्षेत्रको लागि १००ः३०ः३० नाइट्रोजन फोस्फोरस र पोटासियम प्रति हेक्टर र असिंचित क्षेत्रको लागि ६०ः२०ः२० नाइट्रोजन फोस्फोरस र पोटासियम प्रति हेक्टर सिफारिस गरिएको छ । यस्तै हाइब्रिड धानको लागि १२५ः७५ः४० किलो नाइट्रोजन, फोस्फोरस र पोटासियम सिफारिस गरिएको छ । फोस्फोरस र पोटासियमको पुरै मात्रा र नाइट्रोजनलार्इ खेतको अन्तिम तयारीको बेला र नाइट्रोजनको बाँकी आधा भाग रोपार्इँ गरेको ४५ दिन र ६० दिनमा राख्नु पर्दछ ।

नाइट्रेटयुक्त रसायनिक मलको प्रयोग गर्दा नाइट्रेटको रुपमा चुहिएर नास हुने हुनाले धानबालीमा एमोनियमयुक्त मलको प्रयोग गर्ने जस्तै एमोनियम सल्फेट, एमोनियम फोस्फेटको प्रयोग गर्नु उपयुक्त हुन्छ । धान बालीको उत्पादनको लागि उपयुक्तताको आधारमा क्रमबद्धतामा राख्ने हो भने एमोनियम सल्फेट, एमोनियम क्लोराइड , एमोनियम सल्फेट नाइट्रेट, युरिया अनि क्यान पर्दछन

सिंचाइ ब्यवस्थापन
धान पानी जमेको ठाउँमा पनि बाँच्न सक्ने बनस्पति हो । धानमा एरेनकाइमा भन्ने तन्तु हुन्छ जसले गर्दा यो पानी जमेको ठाउँमा पनि बाँच्न सक्दछ ।
धान बालीमा सिंचाइको अति नै आवश्यक पर्ने अवस्थाहरु
बेर्ना अवस्था– यस अवस्थामा जराको सुरुको बृद्धि एवम विकास गर्नको लागि
गाज हाल्ने अवस्था– यो अवस्थामा धेरै गाज हाल्नका लागि सिंचाइको आवश्यकता पर्दछ ।
बालाको संरचनादेखि फुल फुल्ने अवस्था– बालाहरु एकैनास राम्रो वृद्धि गराउनका लागि
दुध भराइ कडा हुने अवस्था– उचित दानाहरु भर्नका लागि सिंचाइका लागि अति नै संवेदनशील हुने समय बाला निस्केको २० दिन अगाडिदेखि बाला निस्केको १० दिन पछाडिसम्म ।

धानबालीमा लाग्ने प्रमुख किराहरु
१. फौजी किरा
यो किरा नेपालमा पछिल्लो समयमा धान ,मकै, तरकारी लगायतका वालीमा ठूलो क्षति गर्ने किरा हो । यो किरा विशेष गरेर रातको समयमा सक्रिय हुने भएकाले दिउँसोको समयमा खेतको आली वा पात र गाजमा लुकेर वस्ने गर्दछ । यो किराले रातको समयमा धानको पात काटेर खाने गर्दछ ।
नियन्त्रणका उपायहरु
विरुवा उम्रेको १० दिन पछि निमयुक्त विषादी azadiractine 0.03%Ec 3ml प्रतिलिटर पानीमा राखी स्प्रे गर्ने ।
–ब्युभेरीया बुसेनिया जस्ता सुक्ष्म जैविक विषादी प्रयोग गर्ने ।
– ट्राइकोग्रामा चिलोनिस १ हप्तामा ३ पटक प्रति हेक्टर १०,००० का दरले छोड्ने ।
– निम,असुरो, वोझो, सिस्नो जस्ता वनस्पतिलार्र्इ गहुतमा ड्रममा डुवाइ नियमित प्रयोग गर्ने ।
– राती वत्ती पासोको प्रयोग गर्ने ।
– रसायनिक विषादी Emamectine benzote 5%SG   ५ ग्राम १० लिटर पानीमा हालेर स्प्रे गर्ने ।
– स्पिनोसाड ४५५क्ऋ १ मिलिलिटर प्रति लिटर ३ लिटरका दरले स्प्रे गर्ने ।
२. गबारो
यो किरा धान बालीमा लाग्ने प्रमुख किरा हो । यसले धानको वृद्धिको अवस्थामा डाठलार्इ खाइदिन्छ र खोक्रो बनाइदिन्छ । यस्तै यस किराले फुलको विकासको अवस्थामा रस चुसेर दानालार्इ भुसमा परिणत गरिदिन्छ ।

नियन्त्रणका उपायहरु
धान खेतको आलीमा भटमास लगाउने ।
धान काटिसकेपछि २—३ दिनसम्म पानी जमाइदिनु पर्दछ
गबारोको अधिकतम क्षति हुने समय छलेर धान रोप्ने
अनावश्यक किसिमले नाइट्रोजन मल बढी नराख्ने
रसायनिक विषादी प्रयोग गर्नैपर्ने अवस्था आएमा व्यालिसिस थुरीनजियन्सिस ३ ग्राम प्रति लिटर पानीमा हालेर स्प्रे गर्ने ।

३. धान बालीमा लाग्ने पतेरो
यसले धानको दानाबाट रस चुस्दछ र दानालाइ खोक्रो बनाइदिन्छ । धानको वृद्धि भइरहेको अवस्थामा यसले विभिन्न भागहरुबाट रस चुस्दछ भने बाला पसाइसकेपछि यो बालातर्फ आकर्षित हुन्छ ।
नियन्त्रणका बिधिहरु
डर्टी ट्रयापको प्रयोग गर्ने । यसको लागि गाइ भैसीको ताजा पिसावमा कपडा वा जुटको बोरा भिजाइ दुइतिर एक एक ओटा घोचाले बाध्ने र उक्त बोरालार्इ धानबारीको वीचमा लगेर गाड्ने गर्नु पर्दछ । ट्रयापमा आकर्षित भएको पतेरोलार्इ बाहिरबाट प्लाष्टिकको झोलाले छोपी संकलन गरी मार्नु पर्दछ ।
मालाथियन ५५ धुलो प्रति विघा १२ किलोका दरले विहान र वेलुका छर्नु पर्दछ ।
४. पात वेरुवा
यो एक किसिमको मोथको लार्भा अवस्था हो । यो किराको केवल लार्भा अवस्था हानिकारक छ र यो पात कलिलो छँदा मात्र लाग्दछ ।
माउ पुतलीले पातमा फुल पारेपछि करिब १ हप्तापछि लार्भा निस्कन्छ र आफु लुकेर बस्ने वरिपरिका पातहरु गुट्मुट्यायर सुरुङ बनाउँदछन् ।
नियन्त्रण
धान खेतमा पानी जमाएर कुनै काँडेदार बस्तु धानमाथि कोतर्ने जसले गर्दा लुकेर बसेका लार्भाहरु पानीमा खसी मर्दछन् ।
विषादी प्रयोग गर्नु पर्ने भएमा माथिका तरिकाले पात फुकाएर विषादी प्रयोग गर्ने ।

धान बालीका रोगहरु
मरुवा
यो रोग एक ढुसीद्धारा लाग्ने रोग हो । यो रोग पाइरेकुलेरिया ओर्याजा नामक ढुसीको कारणले गर्दा लाग्दछ । यो रोग बेर्ना अवस्था ,गाज हाल्ने अवस्था र बाला पसाउने अवस्थामा लाग्दछ ।
मरुवा रोग लाग्ने कारण
यो रोगको प्रकोप पानी कम भएको धानखेतमा बढी भएको पाइएको छ । यो रोग पहाडी क्षेत्रमा गरिने धानखेतमा बढी पाइएको छ ।
नाइट्रोजनको मात्रा धेरै तथा सिलिकाको मात्रा थोरै हुनाले पनि यो रोग लाग्दछ ।
नियन्त्रणका बिधिहरु
यसको ‘लागि हिनोसान को प्रयोग गर्न पर्दछ ।
नाइट्रोजनको मात्रा मिलाएर हाल्नु पर्दछ, धेरै हाल्नु हुँदैन ।
सुख्खा ठाउँमा यो रोगको प्रकोप धेरै हुने भएकाले यो रोगको प्रकोप भएको ठाउँमा पानीको सतह कायम गर्नु पर्दछ ।
डढुवा रोग
यो रोग ब्यक्टेरियाद्धारा लाग्ने रोग हो । यो रोग ज्यान्थोमोनास ओर्याजा नामको ब्याक्टेरियाको कारणबाट लाग्दछ । यो रोग पानी धेरै भएको विशेष गरेर तरार्इको खेतमा बढी लाग्दछ । यो रोगको सबैभन्दा खतरा अवस्था भनेको क्रिसेक अबस्था हो ।
नियन्त्रणका विधिहरु
यसको लागि एग्रिमाइसिन नामको बिषादीको प्रयोग गर्नु पर्दछ ।
यो रोग लागेको खेतबाट अर्को खेतमा पानी जान दिनु हुँदैन ।
धान काटिसकेपछि ठुटाठुटी राम्ररी जलाइदिनु पर्दछ ।
खैरो थोप्ले रोग
यो रोग हेल्मेन्थोस्पोरियम ओर्याजा भन्ने ढुसीको कारणबाट लाग्दछ । यो रोगले सन १९४३ मा भारतमा नोक्सानी पुर्याएको थियो र जसका कारण भोकमरी पनि भएको र धेरैले ज्यान पनि गुमाउन परेको थियो ।
रोगको लक्षणहरु
पात वा धानको गेडामा स साना गोलाकार वा लाम्चिला खैरा थोप्लाहरु देखा पर्दछन ।
नियन्त्रणका विधिहरु
कार्बाडिजेम ५० जस्तै बेभिष्टिन वा डेरासल २—३ गा्रम प्रति किलोग्राम बिउका दरले बिउ उपचार गरि ब्याड राख्ने
सिंचाइ उपलब्ध भएको ठाउमा चैत्र महिनाको सुरुमा नै सिफारिस गरिएका उन्नत जातका धानहरु रोप्ने
एस आर आइ प्रविधिवाट धान रोप्ने तरिका
सघन धान खेती प्रणाली एस आर आइ सन १९८३ मा दक्षिण अफ्रिकाको मेडागास्कारा शहरमा हेनरी डि लाउलानेले पत्ता लगाएका हुन । यस प्रविधिका मुख्य सिद्धान्तहरु निम्न रहेका छन । यो खेतीको प्रयोग गर्दा एक हेक्टरका लागि ५–७ के जी बिउ भए पुग्दछ ।
१ कलिलो बेर्नाको प्रयोग यस प्रबिधिले धान खेती गर्दा ८–१५ दिनको कलिलो बेर्नाको प्रयोग गर्न पर्दछ ।
२ एक ठाउँमा एउटा मात्रै बेर्ना रोप्ने ।
३ बेर्नालाइ टाढा टाढा रोप्ने एउटा बेर्नादेखि अर्को बेर्नाको दुरी २५ से मि हुन पर्दछ ।
४ धानमा कम पानी लगाउने ।
५ गोठको मल वा कम्पोस्टको बढी प्रयोग गर्ने ।
एस आर आइ प्रबिधिका
१ थोरै पानी लगाउनाले मिथेन ग्यासको उत्सर्जन कम हुन्छ जसले गर्दा जलवायु परिवर्तनलाइ पनि रोक्न मद्दत गर्छ
२ यस प्रबिधिमा थोरै मात्र बीउ प्रयोग हुने हुनाले पनि बीउमा लाग्ने रकममा कटौती हुन्छ ।
३ निश्चित हारमा टाढाटाढा र एउटामात्रै बेर्ना एकै ठाउँमा लगाउनाले गर्दा गोडमेल गर्न सजिलो हुन्छ । साथै कृषि यन्त्र र उपकरणवाट गोडमेल गर्न समेत सहज हुन्छ ।