र्‍याच फेमिली ट्रष्टद्वारा राहत वितरण



 

 

तीर्थ तिम्सिना

बुद्धशान्ति । विश्वभर फैलिएको कोरोना भाइरसले विश्व नै आक्रान्त पारेर मुलुक गत चैत ११ देखि निरन्तर बन्दाबन्दी भएको अवस्थामा छ । यस बन्दाबन्दीको अवस्थामा दैनिक ज्यालादारी गरी खाने श्रमिकवर्ग, असक्त, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवार भोकभोकै रहनु नपरोस् भनी एउटा सामाजिक संस्थाले झापाको बुद्धशान्ति गाउँपालिकालाई आफ्ना नागरिकका लागि बाँड्न राहत स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

र्‍याच फेमिली ट्रष्ट नामक सामाजिक संस्थाले शुक्रबार राहत हस्तान्तरण गरेको हो । गाउँपालिकामा नै गएर बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेललाई सितारमेश बहुमुखी क्याम्पसका प्रमुख तथा संस्थाका झापा प्रतिनिधि केशब ढुंगेलले खाद्य सामग्री हस्तान्तरण गरेका छन् ।

खाद्यान्न सामाग्री गाउँपालिकाले तय गरे बमोजिमको चामल, तेल, नुन, दाल, साबुन रहेको सितारमेश क्याम्पस बुद्धशान्तिका प्रमुख तथा संस्थाका झापा प्रतिनिधि ढुंगेलले बताए । जुन प्रति परिवार २५ किलोका दरले ६५ परिवारलाई पुग्ने जनाइएको छ ।

खाद्यान्न सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष भुजेलले संस्थाको प्रशंसा गरेका छन् । उनले बन्दाबन्दीको अवस्थामा दैनिक ज्यालादारी गरी खाने श्रमिकवर्ग, असक्त, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवारलाई केही मात्रामा सहज होस् भनेर सहयोग गरेकोमा धन्यवाद दिएका छन् । उनले सामग्री बुझ्दै उक्त राहत सामाग्री वडागत रूपमा बितरण गर्ने बताएका छन् ।

स्थानीय सरकारलाई राहत वितरणमा थोरै भए पनि सहयोग पुग्ने र आफु पनि बुद्धशान्तिकै नागरिक भएको कारणले आफ्नै गाउँठाउँमा सहयोग गर्न पाउँदा खुसी भएको र्‍याच फेमिली ट्रष्टकि निर्देशक नबिना विश्वकर्माले बताएकी छिन् । उनले यस राहत कार्यक्रममा वित्तीय सहयोग पुर्याउने र्‍याच फेमिली ट्रष्टका सिईओ रबि रोचलाई विशेष धन्यवाद दिएकी छन् ।

उनले यसअघि पनि संस्थाले नेपाल, भारत , पाकिस्तान, माल्दिप्स लगायतका देशहरुमा सहयोग गरिसकेको र आगामी दिनमा समेत गर्दै लैजाने बताएकी छन् ।