‘एकका लागि एक’ अभियानलाई वुद्धशान्ति उद्योग वाणिज्य संघको सहयोग



 

बिर्तामोड– सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था चारपाने झापासहित विभिन्न १८ वटा सामाजिक संघ संस्थाकोे सहयोगमा शुरु भएको ‘एकका लागि एक’ अभियानलाई वुद्धशान्ति उद्योग वाणिज्य संघले ३१ हजार रुपैयाँ प्रदान गरेको छ ।

एक परिवारले अर्को एक विपन्न परिवारलाई सहयोग गर्ने अभियान अन्तर्गत वुद्धशान्ति उद्योग वाणिज्य संघले उक्त रकमको चेक अभियानको साझेदार संस्था विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलाई हस्तान्तरण गरेको हो । वुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र चापागाईं, पूर्व अध्यक्ष गोविन्द पौड्यालले चेक हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले जारी गरेको लकडाउनका कारण कोही पनि भोकभोकै वस्नु नपरोस् भन्ने उद्देश्यले एक परिवारले अर्को एक विपन्न परिवारलाई सहयोग गर्न झापामा शुरु गरिएको ‘एकका लागि एक’ अभियानको कोषमा यो रकमबाहेक हालसम्म ५७ लाख ४१ हजार ९२९ रुपैयाँ जम्मा भइसकेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।

अभियानलाई देश तथा विदेशमा रहेका ५२ वटा संघसंस्था र ६२१ जना व्यक्तिले आर्थिक सहयोग गरेका छन् । अभियानको कोषमा हाल १८ लाख ६४ हजार ६९६ रुपैयाँ बचत रहेको उनले बताए ।