मान्छेको जात मान्छे नै !



दीपेन्द्र राउत

मानिसको जन्म जितबाट भएको हो । नौ महिनासम्म अँध्यारो ठाउँमा बसेर स्वयम् खानेकुरा खाएर, आमाको गर्भमा रहँदा । संघर्षपूर्ण जीवन र अँध्यारो पूर्ण ठाउँमा रहँदै जीवनको लडाइमा रहँदै यस धर्तीमा मान्छे भएर जन्मनु मान्छेको साहस हो । जित हो । मानिसको जन्म जितबाट भएको छ । तर, आजको समाज हेर्ने हो भने मान्छे जातमा विभक्त भएका छन् ।

जितबाट मान्छे जन्मिएको भए पनि जातको आधारमा मान्छेलाई मान्छेले मारिरहेका छन् । मान्छेले मान्छेलाई विभेद गरिरहेका छन् । मान्छेबाट संसारमा मान्छेहरु सवै थोक बने । कोही के बने, कोही के बने तर, मान्छे बन्न सकिरहेका छैनन् । मान्छे तब मात्र मान्छे बन्न सक्छ, जव अरुको अस्तित्वलाई सहज रुपमा स्वीकार्न सक्छ । अरुको जात, थर, अस्तित्व र आस्थालाई स्वीकार गरेपछि मान्छे बनिने हो ।

मान्छे आफूलाई जसरी प्रेम गर्छ, आफ्नो जात, आफ्नो संस्कृति, आफ्नो बैभव, आफ्नो भाषा र आफ्नो पहिचानलाई जसरी माया र प्रेम गर्छ, त्यसरी नै अरुलाई पनि प्रेम र माया दिन सक्छ भने मात्र ऊ मान्छे हो । नत्र भने ऊ मान्छेको रुपमा बसेको, मान्छेको खोलमा रहेको त्यो कुमान्छे हो । ऊ मान्छे बन्न सकिरहेको हँुदैन् । आज मान्छेले जातधर्म र संस्कृतिलाई लिएर एकले अर्कालाई मारिरहेको छ ।

म ठूलो जात, तँ सानो जातको भनेर विभेद गरिरहेका छन् । छोएको पानी नचल्ने ! शरीरमा रगत चल्ने । मन्दिरमा प्रवेशमा रोक ! घरमा प्रवेशमा छेक ! मान्छेले मान्छेलाई रोकेको छ । दुई आत्माको मान्छेको मिलनलाई तड्पाएको छ । मान्छेले मान्छेलाई छेकेको छ । जातजाति जस्तो कलंकित विषयलाई लिएर मान्छेहरु रोइरहेका छन् । समाजमा हेपिइरहेका छन् । कहिले बोक्सीको नाममा । कहिले दलितको नाममा । कहिले विभिन्न जातजाति र अस्तित्वको नाममा ।

विश्वमा आधा भन्दाबढी मान्छेहरु जातियताको दुर्भावनामा पेलिएर, होचिएर, दविएर रोइरहेका छन् भने आधाबढी मान्छेहरु त्यो पीडिकहरुले दिएका गाली र आलोचनाले दुखित बनिरहेका छन् । के बास्तवमा मान्छेको जातजाति जातियता भन्ने हुन्छ र ? मान्छेको जात त मान्छे नै होइन र ! मान्छे मान्छे बाहेक हुनै सक्दैन् । यो कुरालाई शास्त्रिय हिसाबले हेर्नुहोस् । विज्ञानसम्वत हेर्नुहोस् । प्राकृतिक हिसावले हेर्नुहोस् ।

मान्छेलाई जबसम्म मान्छेकै रुपमा व्यवहार गर्न सक्दैनौं तबसम्म हाम्रो मानवीयतालाई उठान गर्न सक्दैनौं । हामीबीच द्वन्द्घ चल्छ । हामीबीच बैमन्यस्यता, झगडा र लडाईँ भइरहेको हुन्छ । हामी हाम्रो देशमा हेर्न सक्छौँ, हामी जातियताको कारणले कति खण्डित भएका छौँ । हामीबीच फाइदा उठाउने मान्छेको जमात बढिरहेको छ । अझै पनि हामी ठूला जातको भनेर घमण्ड गर्छौ । म ब्राम्हण हुँ, म क्षेत्री हुँ, म ठकुरी हुँ भनेर घमण्ड गछौँ । कोही तल्लो जातका भनिएकाले हामी हेपिएका हौँ । हामीले बाहुनको विरोध गर्नुपर्छ, क्षेत्रीको विरोध गर्नुपर्छ, ठकुरीको विरोध गर्नुपर्छ भन्दै आवाज उठाइरहेका छन् । यी दुवैमा केही स्वभाविकता देखिए पनि बास्तवमा जातजाति नै छैन भनेर जब हामीले भित्री चुरो बुझछौँ तव यो कलंक र विभेदलाई हामीले निर्मूल पार्न सक्छौँ ।

मान्छेको जात मान्छे मात्र हो । कि चरा जात हुन्छ । कि मुसा जात हुन्छ । कि पशु जात हुन्छ । कि रुख जात हुन्छ । कि बनस्पति जात हुन्छ । मान्छे त मान्छे मात्र नै हो नि । कहाँ हुन्छ ब्राम्हण, क्षेत्री, बैष्ण, शुद्र ? यो त कर्मको आधारमा हो । शास्त्रमा हेर्नु होस् बैदिक नियम अनुसार यदि ज्ञानी बोध प्राप्त भएको प्रज्ञावान पुरुषले कहिले पनि मान्छेलाई जातियताको आधारमा तँ सानो जातको पर बस म ठूलो जातको वर बस्छु मन्दिरभित्र नछिर, चर्चभित्र नछिर गुम्वाभित्र नछिर भनेर कहिले पनि विभेद गर्दैन ।

परमात्माले मान्छेलाई मान्छे हुन सिकाएको थियो । तर, मान्छेले त जात बनाएर आफुलाई विभिन्न पर्खालमा विभाजन गर्यो । हामी यो मानसिकताबाट बाहिर निक्लनु पर्छ । हामीलाई लाग्न सक्छ, यो त परापूर्वकालबाट चलिआएको परम्परा हो । तर, यी परम्परा पनि यसै समाजमा मान्छेले नै बनाएका हुन् । सीमित स्वार्थ पूरा गर्न समाजमा शासक वर्गले बनाएका हुन् । अनि हामी समाजका अंग हौँ । प्रत्येक मानिस समाजका अंग हौँ ।

यदि हामी सबै यसै समाजको अभिन्न अंग बन्दछौँ भने कसरी हामीले विभेद गर्न सक्छौँ ? कसरी दलित भनेर दमाई कामी विश्वकर्मा भनेर छुट्टयाउन सक्छौँ ? मान्छे त मान्छे हो । त्यो त पेशा र कर्मको आधारमा विस्तृत गरिएको थियो । भागवत गीतामा श्रीकृष्ण भगवानले पनि भन्नु भएको छ, ‘चार जात वर्ण त मान्छेको कामको आधारमा बनाएको हो मैले जन्मको आधारमा बनाएको होइन ।’

दुईचोटि जन्मिने मात्र उच्च स्थानमा पुग्छ । ब्रम्हस्थानमा पुग्छ । मान्छे जन्मले एउटा आउँछ भने ज्ञानले अर्को जन्मन्छ । मान्छे माता पिताको योगदानबाट जन्मिन्छ भने अर्को जन्मपछि प्राप्त हुने ज्ञानले उदय हुन्छ । तब मात्र ऊ दुई चोटि जन्मिए मात्र ब्रम्हतत्व ब्राम्हण हो भन्न खोजेको हो । यदि जन्मले हुन्थ्यो भने डाक्टरको छोरा पढ्दै नपढी डाक्टर हुन्थ्यो । वकिलको छोरो पनि नपढी वकिल हुन्थ्यो । पत्रकारको छोरो नपढी पत्रकार हुन्थ्यो । त्यसैले किन हामी पढनु पर्छ भन्छौँ ?

ब्रम्ह भनेको सत्ता हो । कर्म र कामको आधारमा तय गरेको हो । तर, हामी यो विज्ञानको युगमा २१ औँ शताव्दीमा आइपुग्दा पनि हामी कसैलाई घृणा गरिरहेका छौँ । तल्लो जात र आफू माथिल्लो जात भनेर गर्व गरिरहेका छौँ भने हामी भित्रको चेतनाको द्वार अझै खुलेको छैन् । हामी संकल्प गरौँ । कसैलाई विभेद गदैनौं । कसैलाई घृणा नगरौँ । आफ्ना छोरा छोरीलाई पनि त्यस्तै शिक्षा दिऔं । हामीले जसरी आफ्ना बच्चालाई सिकाउँछौ उनीहरुले त्यस्तै सिक्छन् ।

जातिय विभेदलाई हाम्रो मानसिकताबाट हटाऔं । जातको आधारमा मान्छेको मनले मनलाई चाहने होइन । जातको आधारमा मनले मनलाई मनपराउने होइन । जातले मान्छेसँग मान्छे आर्कषित हुने होइन । मान्छे नै मान्छेको जात हो । मान्छे, मान्छेसँग आर्कषित हुन्छन् । यो देशको विडम्वना यहाँ कयौँ मान्छे जातको कारणले समाजमा पछाडि परेका छन् । कयौं मान्छे अपहेलित हुनु परेको छ । कयौँ मान्छेको अकालमा मृत्यु भएको छ । मानिसलाई समाजले मान्छेको आधारमा स्वीकार्नु पर्छ ।

दलितको नाममा एउटा मान्छे मेरी सखाको धड्कनमा धड्कन मिसाउन आएको हुँ, मेरी सखाको अनुहारमा घुम्टो सजाउन आएको हुँ, मलाई कात्रोमा नराख्नुहोस्, मलाई यसरी ढुंगाले नहान्नुहोस्, म त मेरी सखाले बोलाएर आएको हो भन्दै आफ्नो अन्तिम सास त्याग गर्नुपरेको घटनाले मान्छेलाई जातको आधारमा यसरी लखेटी लखेटी तड्पाई तडपाई मान्छेबाट मान्छेलाई मार्ने काम नगराँै । मान्छेको जात मान्छे नै हो यो हामी सवैले बुझौँ ।