लघुकथा– भिन्नता



 

सुस्मिता खतिवडा

 

रामपुर गाउँमा मीना र सीता नाम गरेका दुई छिमेकी थिए। मिनाको परिवार आर्थिक रुपमा सम्पन्न जग्गा जमिन पनि प्रशस्त थियो। उनका श्रीमान् बजारमा व्यवसाय गर्थे। तर, सीताको भने आर्थिक अवस्था कमजोर थियो। ज्याला मजदुरी गरेर बिहान बेलुका हात मुख जोड्न पनि धौ–धौ पर्थ्यो।

मीना र सीता दुवैका समान उमेरका एक–एक छोरा थिए। मीनाको छोराको नाम सुबिन र सीताको छोराको नाम मोहन थियो। जब मीनाका छोरा दुई वर्ष पूरा गरेर तीन बर्ष प्रवेश गरे, मीनाले उनलाई शहरको एउटा मन्टेस्वरीमा भर्ना गरिदिइन्। उनलाई लिन दैनिक बस आउने गर्थ्यो। त्यो देखेर सीताको छोरा मोहन म पनि बसमा चढेर स्कूल जाने भन्दै झगडा गर्थे। सीताले कालो अनुहार लगाउँदै मोहनलाई फकाउँथिन् ।

बच्चा त हो रोइकराइ गरी हाल्छन् । एकातिर कामको चटारो अर्कोतिर छोराको पिर । बेला बेला छोरालाई पड्काउथिन पनि । आफू काम गर्न जाँदा छोरालाई पनि आफूसँगै लैजान्थिन।यसैगरी समय बित्दै गयो। सुबिन र मोहन बढ्दै गए। सुबिन पिजि,नर्सरी सकेर एलकेजीमा पढ्ने भए भने उता मोहन पनि घर नजिकैको सामुदायिक विद्यालयको बाल कक्षामा भर्ना भए। बस चढेर सुविन जस्तै स्कुल जाने उनको सपना पूरा भएन।

पहिलो एक दुई दिन आमासँगै विद्यालय गएका उनी त्यसपछि गाउँकै अरु दाजु दिदीसँगै जान थाले। सुबिनले अक्षर, शब्दबाट वाक्यमा प्रवेश गर्दैगर्दा उनी बल्ल अक्षर सिक्न थाले। नजिकै घर भएको साथी चटक्क परेको सफा लुगा, चिटिक्क परेको व्यागमा किताब, कापीसँगै मीठो खाजा, अनि हातमा लोभलाग्दो पानीको बोतल बोकेर निस्किएको साथी हेर्न बसको हर्न बज्ना साथ मोहनभित्रबाट दौडेर आँगनमा आएर ट्वाल्ल परेर हेर्थे।

बस गैसकेपछि अँध्यारो अनुहार लगाउँदै भित्र पस्थे । अनि आमाले बिहानै काममा जानुअघि पकाएर राखिदिएको चिसो खाना खाएर पुरानो भएको सट, त्यसमाथि बटम पनि तलमाथि पार्दै लगाएर हातमा च्यातिएर दुई तीन पाना बचेको कापी बोकेर गाउँले दिदी दाजुको पछाडि लागेर स्कुलतिर लाग्छ्न्।

यो एउटा काल्पनिक कथा हो, तर सामुदायिक बिद्यालयको सेरोफेरोमा यस्ता वास्तबिकता धेरै छ्न्। माथि बसेर संस्थागत र सामुदायिक विद्यालयको गुणस्तरमा भिन्नता देख्नेहरुले यहाँ भित्रका समस्याको पहिचान गरी समाधानतर्फ उन्मुख हुन जरुरी छ। हामीमा विद्यालय बनाउने इच्छा शक्ति नभएको होइन ।

हामीभित्र पनि कमजोरी होला । अनुगमन गरि औंल्याउनु र गल्ती गर्नेलाई कार्बाही गर्नुपर्यो । यहाँ संस्थागत विद्यालयलाई उछिन्ने सामुदायिक विद्यालयहरु नभएका होइनन्।त्यसैले शिक्षाको व्यापार होइन सेवा गर्न प्रेरित गरी सामुदायिक विद्यालयको स्तर उन्नति तर्फ सबै जुटौं ।