भारतीय अवरोधले अलैँची र चिया लोड भएका गाडी काँकडभिट्टामा अलपत्र



 

काँकडभिट्टा– भारतको पश्चिम बंगाल राज्य सरकारले नेपाली उत्पादनको निकासीमा अवरोध गरेको छ । नेपालबाट जाने मालवाहक सवारीलाई छिर्न नदिने राज्य सरकारको रवैयापछि नेपाली निर्यातकर्ता व्यवसायी निराश भएका छन् ।

लक डाउन सुरु भएयता पश्चिम बंगाल सरकारले नेपाली उत्पादन नपठाउन भनेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । पानीट्याङ्की भन्सारले जाँचपासका लागि तयार रहेको बताए पनि नेपाली उत्पादन लोड भएका गाडी भारतीय प्रहरीले रोक्दै आएको मेची भन्सार प्रमुख ध्रुवकुमार विश्वकर्मा बताउँछन् ।

नेपाल अलैँची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले पश्चिम बंगाल सरकारको रवैयाका कारण नेपाली उत्पादन लोड भएका मालवाहक ट्रक काँकडभिट्टा नाकामा अलपत्र परेको बताए । अलैँची र चियाका २२ वटा गाडी मेची भन्सारको यार्डमा छन् । जाँचपास भइसकेका ती गाडीलाई पानीट्याङ्की छिर्न दिइएको छैन ।