आजदेखि रेडियो टेलिभिजनबाट पढाई



 

झापा– विद्यार्थीका लागि आजदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु हुँदैछ । आजदेखि रेडियो, टेलिभिजन, भर्चुअल, स्वःअध्ययन सामग्रीलगायतका विधिबाट वैकल्पिक अध्यापन शुरु हुन लागेको हो।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १८ जेठमा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गर्दै १ असारदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो।

शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले असार १ गतेदेखि ३१ गतेसम्म नेपाल टेलिभिजनको एनटीभी प्लसबाट विषयगत पाठ पढाइ हुने गरी समय तालिका पनि सार्वजनिक गरेको छ ।

कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शाखाले जानकारी दिएको छ। कोरोना महामारीका कारण तत्काल विद्यालय खुल्ने अवस्था नदेखिएपछि सरकारले विद्यार्थीको पढाइलाई निरन्तरता दिने उद्देश्यले घरमै बसेर पढ्ने व्यवस्था मिलाएको हो।

लक डाउनका कारण विद्यालय तहमा अध्ययनरत ७७ लाख विद्यार्थी प्रभावित बनेका छन्। सामुदायिक क्षेत्रका ५७ लाख र निजीका २० लाख गरी ७७ लाख विद्यार्थी आजदेखि वैकल्पिक अध्ययनमा जान लागेका हुन्।