बिर्तामोडमा कक्षा ५ र ६ मा पनि ‘आचरण शिक्षा’ लागू हुँदै



 

झापा– बिर्तामोड नगरपालिकाले कक्षा ५ र ६ मा पनि ‘आचरण सचेतना शिक्षा’ लागू गर्ने भएको छ । आफैँले पाठ्यक्रम बनाएर नगरपालिकाले आचरण शिक्षा पढाउन लागेको हो ।

विद्यालय तहमा असल संस्कार र आचरणको विकास भए मात्रै नागरिक देशप्रति जिम्मेवार बन्न सक्छ भन्ने अवधारणाका आधारमा बिर्तामोड नगरपालिकाले स्थानीयताका आधारमा आफ्नै पाठ्यक्रम बनाएको हो ।

नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले यसको अवधारणा अघि सार्दै नैतिक मूल्य र मान्यताका विषयमा सानैदेखि पढाउनु पर्नेमा जोड दिँदै आएका छन् । यसअघि नगरपालिकाले गतवर्षदेखि ३ र ४ कक्षामा ‘आचरण सचेतना शिक्षा’ लागू गरेको थियो ।

बिर्तामोडका निजी तथा सरकारी विद्यालयका विद्यार्थीले अनिवार्य रुपमा ‘आचरण सचेतना शिक्षा’ पढ्नुपर्ने व्यवस्था मिलाइएको बिर्तामोड नगर उपप्रमुख पवित्रा महतराले बताइन् ।

‘बिर्तामोड नगरपालिकाले नगरका सबै सामुदायिक र संस्थागत विद्यालयमा यो वर्ष कक्षा ५ र ६ मा आचरण सचेतना शिक्षा लागू गर्दैछ’, उपप्रमुख महतराले भनिन्, ‘यसका लागि पाठ्यपुस्तक तयारीको प्रक्रिया अन्तिम चरणमा छ ।’

पाठ्यक्रम सम्पादन समूहका संयोजक टङ्कप्रसाद सेढाईले नगरको स्थानीय पाठ्यक्रम निर्माण समितिका संयोजक युवराज पाण्डेलाई पाठ्यक्रम हस्तान्तरण गरेका छन् । स्थानीय पाठ्यक्रम निर्माण समितिले नगरपालिकाको शिक्षा शाखाका प्रमुख तिलचन भण्डारीलाई पाठ्यपुस्तकको खाका हस्तान्तरण गरेको छ ।

नगर शिक्षा अधिकारी भण्डारीले पाठ्यक्रमलाई अन्तिमरुप दिन लागिएको बताए । ‘विज्ञहरुको राय मागिएको छ’, उनले भने, ‘त्यसका आधारमा केही परिमार्जन गर्नुपर्ने आवश्यकता देखिए परिमार्जन समितिले त्यसको काम अघि बढाउँछ ।’

गतवर्षदेखि कक्षा ३ र ४ मा लागू गरिएको आचरण शिक्षाको पाठ्यपुस्तकमा केही परिमार्जन गरिएको शिक्षा प्रमुख भण्डारीले जानकारी दिए । ‘आवश्यक अध्ययन पूरा गरी पाठ्यपुस्तक छापेर विद्यालयलाई उपलब्ध गराउने तयारी अन्तिम चरणमा छ’, उनले भने ।