प्रत्येक स्थानीय तहलाई कम्तीमा डेढ करोड समानीकरण र समपुरक अनुदान



 

 

झापा–प्रदेश १ सरकारले स्थानीय तहलाई समानीकरण र समपुरक अनुदान उपलब्ध गराउने भएको छ । प्रदेश सरकारका अर्थमन्त्री इन्द्र आङ्वोले सोमवार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

प्रत्येक स्थानीय तहले समानीकरण अनुदानवापत कम्तीमा ५० लाख पाउनेछन् । कम्तीमा एक करोड पाउने गरी समपुरक अनुदानको बजेट व्यवस्थापन गरिएको अर्थमन्त्री आङ्वोले बताए ।

वित्त आयोगको मापदण्ड समेतको आधारमा स्थानीय तहलाई राजस्व बाँडफाँड बापत ८२ करोड ६९ लाख ५० हजार उपलब्ध गराउने सरकारको प्रस्ताव छ ।

साथै प्रत्येक स्थानीय तहलाई न्यूनतम ५० लाख पर्ने गरी एक अर्ब समानीकरण अनुदान व्यवस्था गरिएको छ । स्थानीय तहको आवश्यकता, प्राथमिकता र मागको आधारमा स्थानीय तहहरुको साझेदारीमा आयोजनाहरु कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा न्यूनतम एक करोड पर्ने गरी एक अर्ब ४० करोड ७० लाख समपुरक अनुदानको व्यवस्था बजेटमा गरिएको छ ।