फौजी कीराको आक्रमण रोक्न माइजोगमाईमा औषधि बितरण



इलाम– माइजोगमाई गाउँपालिकाले मकैबालीमा अमेरिकन फौजी कीराको प्रकोप बढेपछि नियन्त्रणका लागि निःशुल्क औषधि वितरण गरिरहेको छ । गाउँपालिकाले कृषि शाखामार्फत बाली संरक्षण कार्यक्रम अन्तर्गत औषधि बितरण गरेको हो ।

फौजी किराको नियन्त्रणका लागि निःशुल्क औषधि वितरण भइरहेको गाउँपालिकाको कृषि शाखा प्रमुख अनिषा राईले बताइन् । प्रकोप देखिएका क्षेत्रका किसानलाई कृषि शाखाबाट औषधि लगेर प्रयोग गर्न उनले आग्रह समेत गरेकी छिन् ।

माइजोगमाई–३ का किसान गायत्री काफ्लेले फौजीको प्रकोप देखिए पनि समयमै औषधोपचार गरिएकाले खासै क्षति नपुगेको बताए । फौजी कीराले मकैको गुवो र पातहरु खान थालेपछि मकैबाली सखाप हुने हो कि भन्ने चिन्ता थपिएको थियो ।

माइजोगमाई गाउँपालिका–१ का पुन्यप्रसाद ढुङ्गेलले समयमै गाउँपालिकाको कृषि शाखाबाट औषधि ल्याएर छर्किएपछि अहिले कीराको आक्रमण कम भएको बताए ।