भारतीय व्यापारी आएनन्, लेकाली आलु नबिक्ने चिन्ता



 

 

इलाम– कोरोना भाइरसका कारण भारतीय व्यापारी नआउँदा सन्दकपुर र माइजोगमाईका किसान आलु नबिक्ने चिन्ताले पिरोलिएका छन् । अघिल्लो वर्ष घर–घरमा आएर भारतीय व्यापारीले आलु किनेका थिए । आलु बिक्री हुन थालेपछि बाँझो रहेको जमिनमा खेती हुन थालेको थियो ।

सन्दकपुर र माईजोगमाई गाउँपालिकाको माथिल्लो लेकाली क्षेत्रमा उत्पादन हुने आलु भारतीय व्यापारीले लिँदै आएका छन् । तर, यसवर्ष कोरोनाका कारण व्यापारी आउने छाँटकाँट नदेखिएको माइजोगमाई–६ का रघु राईले बताए ।

लेकाली भेगमा आलु बाहेक अन्य खेती नहुने र रातभर जाग्राम बसेर बँदेलबाट जोगाएर फलाएको आलु खन्न सुरसार हुँदासम्म बजारमा भनेजस्तो भाउ नआएको उनी बताउँछन् । ‘यो वर्ष स्थानीय बजार बाहेक अन्य ठाउँ लान नसकिने भएकोले आलुबाट राम्रो आम्दानी लिन नसकिने अवस्था छ’ राईले भने ।

अर्का स्थानीय कुमार बुढाथोकीले भारतीय व्यापारी नआउने भएकोले यो वर्ष स्थानीय पञ्चमी र नयाँबजारमा आलु बिक्री गर्ने बताए । इलामको जमुना, प्याङ, जोगमाई, माईमझुवा र नयाँबजारको माथिल्लो भेगमा धेरै आलु खेती गरिन्छ ।