झापा कांग्रेसले सरकारलाई बुझायो ज्ञापन



 

बिर्तामोड– नेपाली कांग्रेसले मंगलवार सरकारलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत कांग्रेसले ज्ञापनपत्र बुझाएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा नेतृत्व टोलीको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामागर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनमार्फत काङ्ग्रेसले १८ बूँदे माग राखेको छ ।

कोरोना भाइरसको यो महामारीका बीच प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा एउटा पिसिआर परीक्षण प्रयोगशाला र कोरोना उपचार अस्पताल स्थापना नहुनु दुर्भाग्यपूर्ण भएको काङ्ग्रेसले जनाएको छ ।

ज्ञापनमा कांग्रेसले सरकारका जिम्मेवार मन्त्रीहरु स्वास्थ्य सामग्री खरिददेखि लिएर राहत वितरण, उद्धार प्रक्रिया, क्वारेन्टिन निर्माण लगायतका भ्रष्टाचारमा लिप्त देखिएको गम्भीर आरोप लगाएको छ ।

कांग्रेसले झापालाई केन्द्रविन्दु बनाएर कोरोना परीक्षण तथा उपचार सेवा प्रवाहका लागि सुविधा सम्पन्न कोरोना अस्पताल निर्माण गर्न माग गरेको छ । स्थानीय गाउँ र नगरपालिकाले मात्रै क्वारेन्टिन व्यवस्थापन, राहत, उद्धारका कार्य गर्न नसक्ने हुँदा यथेष्ट आर्थिक सहयोग उपलब्ध गराउनु पर्नेमा कांग्रेसको जोड छ ।

विदेशमा अलपत्र, रोजगार गुमाएका नेपालीहरुलाई निःशुल्क रुपमा उद्धार गरी स्वदेश ल्याएर सुरक्षित घर पु¥याउनु पर्नेमा कांग्रेसको जोड छ । शैक्षिक सत्र शुरु नहुँदा लाखौं विद्यार्थीको भविष्य अन्योलग्रस्त भइरहेको हुँदा उनीहरुलाई निःशुल्क इन्टरनेटको व्यवस्थापन गर्नु पर्ने माग कांग्रेसले अघि सारेको छ ।