नेपालसँग वार्ताको औचित्य नरहेको भारतको निष्कर्ष



 

झापा–भारतले नेपालसँग सीमा विवादबारे द्विपक्षीय वार्ता गरिरहन आवश्यक नरहेको निष्कर्ष निकालेको छ । केही दिनअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट कमिटी अन सेक्युरिटी सीसीएस बैठकले तत्काल नेपालसँग सीमाका विषयमा द्विपक्षीय वार्ता गर्नुको अर्थ नरहेको निष्कर्ष निकालेको हो ।

भारतीय न्यूज च्यानल ‘आजतक’को अनलाइन संस्करणमा जनाइएअनुसार मोदीले उक्त बैठकमा नेपालले नयाँ नक्सा जारी गरेको र सोही नक्सालाई मान्यता दिन संविधानमा समेत संशोधन प्रक्रिया थालेको अवस्थामा वार्ताको अर्थ नरहेको धारणा राखेका थिए ।

बैठकमा नेपालका पछिल्ला कदमका बारेमा कुनै प्रतिक्रिया नजनाउने र द्विपक्षीय वार्ताको मिति तय नगर्ने निर्णय भएको ‘आजतक’ ले जनाएको छ ।नेपालले सीमा मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चसम्म लैजाने सूचना प्राप्त भएको भन्दै उक्त बैठकमा यसबारे पनि चर्चा भएको जनाइएको छ ।

भारतमाथि दबाब बनाउन नेपालले जस्तोसूकै कदम चाले पनि तत्कालका लागि मौन रहेर स्थितिमाथि गम्भीर रुपमा ध्यान दिने निर्णय भएको ‘आजतक’ ले उल्लेख गरेको छ ।
रातोपाटीबाट