चारआलीमा पेट्रोलियम भण्डारण गृह बनाउन नदिने स्थानीयको अडान



झापा– झापाको मेचीनगर–१३ चारआलीमा पेट्रोलियम भण्डारण गृह र ग्यास बोटलिङ प्लाण्ट बनाउने सरकारी तयारीप्रति स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।

मानव वस्ती र जङ्गलको छेउमा पेट्रोलियम भण्डारण गृह र ग्यास बोटलिङ प्लान्ट बनाउँदा जोखिम हुने भन्दै स्थानीयले विरोध जनाएका हुन् । उनीहरुले सङ्घर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन् ।

नागरिक संघर्ष समितिका संयोजक बद्री महतले भने, ‘वरिपरि बस्ती अनि जंगल छेउमा पेट्रोलियम भण्डारण गृह बनाउनु उपयुक्त छैन । हामी यसमा सहमत हुन सक्दैनौँ ।’

सरकारले नीति तथा कार्यक्रममार्फत झापामा पेट्रोलियम भण्डारणस्थल बनाउने घोषणा गरेको थियो । भण्डारण गृहसँगै ग्यास बोटलिङ प्लान्ट पनि राख्ने सरकारी तयारीका बीच मेचीनगर–१३ का स्थानीयबासी विरोधमा उत्रिएका हुन् ।

स्थानीय मुना अधिकारीले भनिन्, ‘कुनै दुर्घटना भयो भने यसले गर्ने क्षति अकल्पनीय हुन्छ । वरिपरि पाँचसय घर छन् । छेउमा जंगल पनि छ । यस्तो ठाउँमा भण्डारण गृह बनाउँदा जोखिम बढ्छ भन्ने हाम्रो चिन्ता हो । ’

नेपाल आयल निगमले भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइप लाइन बनाउने तयारी अघि बढाइरहँदा स्थानीयको विरोध सुरु भएको हो ।

मेची राजमार्गको चारआली जंगलपूर्व निगमको २३ विघा जग्गामा पेट्रोलियम भण्डारण गृह र ग्यास बोटलिङ प्लान्ट बनाउने तयारी छ । तर, स्थानीय मानव वस्तीका बीचमा भण्डारण गृह बनाउन नहुने अडानमा छन् ।

स्थानीयबासी तेजप्रसाद सिग्देलले दीर्घकालिन योजना बनाउँदा सरकार संवेदनशील हुनु पर्ने भन्दै छनौट गरिएको स्थल उपयुक्त नहुने बताए ।

सरकारले भारत पश्चिम बंगालको सिलगुडीदेखि झापाको चारआलीसम्म अन्तरदेशीय पाइप लाइन निर्माणसँगै पेट्रोलियम भण्डारणस्थल बनाउने निर्णय गरेपछि भारतीय आयल कर्पाेरेशनको प्राविधिक टोलीले पहिलो चरणको सर्वे सम्पन्न गरिसकेको छ ।

तर, भण्डारणस्थल बनाउन लागिएको क्षेत्र वरपर मानव बस्ती रहेको र नजिकैको हातेमालो वन क्षेत्रको पर्यावरणीय जैविक विविधतामा समेत असर पर्ने स्थानीयको तर्क छ ।

स्थानीयबासी समीर सिग्देल सरकारी प्रतिवेदनले घना बस्ती बीचमा जोखिम हुने औँल्याएको भए पनि माटो परीक्षण र डीपीआर तयार गर्ने काम नरोकिकोप्रति आश्चर्य व्यक्त गर्छन् ।

‘सरकारी निकाय परस्परमा विरोधाभाष काम गरिरहेका छन्’, उनले भने ‘यसमा हामी कुनै हालतमा सहमत हुन सक्दैनौँ ।’