‘दुबै मिर्गाैला बिग्रिए, उपचार गराउन पैसा छैन’



 

 

बिर्तामोड– आर्थिक अभावका कारण बिर्तामोड नगरपालिका–३ की एक जना महिला उपचार पाउनबाट बञ्चित भएकी छन् । बिर्तामोड–३ सुकुम्बासी टोलकी ४२ वर्षीया धनमाया तामाङ उपचार पाउनबाट बञ्चित भएकी हुन् ।

तामाङका दुबै मिर्गाैला बिग्रिएका छन् । तर, उपचार गराउन पैसा छैन । डाइलोसिस गराउनु पर्ने भए पनि पैसा जुटाउन नसकेपछि उनी कष्टकर दैनिकी बिताउँदै बसेकी छन् ।

तामाङको उपचारका लागि आर्थिक सहायता जुटाउने अभियानमा गङ्गामाया तथा नरबहादुर बस्नेत क्यान्सरपीडित सहयोग संस्थाले चासो देखाएको छ ।

संस्थाका अध्यक्ष भूपाल बस्नेतले पीडित तामाङको उपचारका लागि दाताहरुले थोरै सहयोग गरिदिए पनि धन्य हुने बताए । ‘तामाङको उपचारका लागि मनकारी सहयोगी दाताको खाँचो छ’, संस्थाका तर्फबाट शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले भने ।

वडा नम्वर–३ का अध्यक्ष भोजराज सिटौलाले पीडित तामाङका लागि सहयोग गर्न र जुटाउन आफू तयार रहेको बताए । सहयोगी दाताले 9803041431/ ९८४२६५२५१६ नम्वरमा सम्पर्क गरी सहयोग दिन सक्ने छन् ।

साताको दुईपटक डायलोसिस गराउँदै आएकी तामाङले दुई महिनादेखि सेवा लिन पाएकी छैनन् । भएको गहना बेचेर अनि घरजग्गा धितो राखेर मिर्गौलाको उपचार गर्दै आएकी उनले रकम अभावकै कारण दुई महिनादेखि डायलोसिस गर्न नसकेकी हुन् ।