बिर्तामोडका सहकारीको सहयोगप्रति प्रशंसा



 

 

झापा–बिर्तामोड नगरपालिकाले कोरोना भाइरस संक्रमणका क्रममा विपन्न नागरिकको राहतका लागि नगरभित्रका सहकारीले गरेको सहयोगको प्रशंसा गरेको छ ।

आइतवार कार्यालयमा आयोजित सरोकारवालासँगको छलफलमा उपप्रमुख पवित्रा महतरा र प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले प्रशंसा गरेका हुन् ।

‘राहत अभियानका बेला नगरका सहकारीको योगदान प्रशंसनीय छ’, उपप्रमुख महतराले भनिन्, ‘संकटका बेलाको सहयोग नगरपालिकाले बिर्सिदैन ।’ प्रमुख प्रशासकीय अधिकृत खतिवडाले सहकारी शाखाका अधिकृत डिल्ली दाहालले निर्बाह गरेको भूमिका झन् प्रशंसनीय रहेको बताए ।

‘नगरका सहकारीसँग डिल्लीजीले जसरी समन्वय गर्नुभयो, उहाँका लागि पनि एउटा परीक्षा जस्तै थियो’, प्रमुख प्रशासकीय अधिकृत खतिवडाले भने, ‘मैले त टार्गेट दिएको थिएँ । त्यो पूरा भयो ।’

सहकारी अधिकृत दाहालका अनुसार नगरका सहभागीले कोरोना भाइरसको संक्रमणका बीच २० लाख भन्दाबढी सहयोग गरेका छन् । यसबाहेक तीन लाख भन्दाबढीको खाद्यान्न सहयोग पनि प्राप्त भएको दाहालले जानकारी दिए ।

बिर्तामोडमा १३३ वटा सहकारी संस्था सञ्चालनमा छन् । तीमध्ये ९९ वटा प्रदेश सरकार र ३४ वटा नगरपालिका मातहत सञ्चालित छन् । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले कोरोना भाइरसको संक्रमणका बीच झापाका सहकारी संस्थाले विपन्न नागरिकको राहतका लागि तीन करोड भन्दाबढी नथद तथा खाद्यान्न सहयोग गरेको बताए ।