पीसीआर परीक्षण प्रयोगशालाका लागि कनकाई नगरपालिकाले ३० लाख बजेट छुट्ट्याउँदै



बिर्तामोड–पीसीआर परीक्षण प्रयोगशालाका लागि झापाको कनकाई नगरपालिकाले ३० लाख रुपैयाँ बजेट बिनियोजन गर्ने भएको छ । मंगलवार बिर्तामोडमा आयोजित छलफलमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले ल्याब सञ्चालनका लागि ३० लाख रुपैयाँसम्म बजेट छुट्याउने प्रतिबद्धता जनाएका हुन् ।

‘एकका लागि एक’ अभियानमार्फत झापामा जनस्तरबाट स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशाला झापाको कनकाई नगरपालिकास्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापना गर्ने तयारी भइरहेको छ । अभियानका संयोजक महेन्द्रकुमार गिरीले अनुमति पाए असार मसान्तभित्र ल्याब तथा अन्य उपकरण उपलब्ध गराउन अभियान तयार रहेको बताए ।

हालसम्म ८२ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको र एकडेढ हप्तामा ल्याबका लागि आवश्यक रकम प्राप्त भइसक्ने गिरीको भनाइ छ । छलफलमा अभियानका सहसंयोजक विनोद बस्नेतले अभियानले हालसम्म गरेका कामका बारेमा प्रस्ट्याएका थिए । सदस्य सजेश शिवाकोटीले ल्याब स्थापनाको प्राविधिक पक्षका बारेमा सहभागीलाई जानकारी दिए ।

ल्याब स्थापनाका लागि हालसम्म ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख र झापा जिल्ला सहकारी संघको समन्वयमा २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेका छन् । विभिन्न सामाजिक तथा वित्तीय संस्थाले पनि अभियानलाई सहयोग गरिरहेका छन् ।