‘एक इँटा अभियान’ : झापा नाटक घरलाई वडा र टोलको सहयोग



 

तस्वीरहरु– विष्णुकूल श्रेष्ठ

बिर्तामोड– निर्माणाधीन झापा नाटक घरका लागि सुरु गरिएको ‘एक इँटा अभियान’ अन्तरगत बिर्तामोड १ नम्वर वडा कार्यालय र टोल विकास संस्थाले सहयोग गरेका छन् ।

वडाध्यक्ष एवम् नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले वडाका कर्मचारी समेतको सहभागितामा क्षितिज नाट्य समूहलाई बुधवार नाटक घर निर्माणस्थलमा सहयोग हस्तान्तरण गरेका हुन् ।

प्रमुख अतिथिका रुपमा बोल्दै अध्यक्ष पाण्डेले नाटक घरको निर्माण कार्य पूरा गर्न वडाका तर्फकाट सक्दो सहयोग गर्ने भन्दै समुदायलाई पनि सहयोगका लागि अपिल गरे ।

वडाका तर्फबाट ‘एक इँटा अभियान’ अन्तरगत तीन हजार सातसय रुपैयाँ प्राप्त भएको क्षितिज नाट्य समूहका अध्यक्ष युवा रङ्गकर्मी माधव कल्पितले बताए ।

कार्यक्रममा बोल्दै झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईले सबैको सानो सहयोगका कारण नाटक घरले एउटा आकार पाएको बताए ।

‘वडाका लागि यो एउटा महत्वपूर्ण योजना त हुँदै हो’, कार्यक्रमका विशेष अतिथि समेत रहेका प्रसाईले भने, ‘अझ यो टोलका लागि गौरवको योजना हो ।’ प्रसाईले भाषा, कला र संस्कृतिको जगेर्ना र विकासका लागि झापा नाटक घर एउटा कोसेढुङ्गा सावित हुने बताए ।

कार्यक्रममा नचानु विष्णु श्रीजङ्घा टोल विकास संस्थाले पनि सहयोग गरेको छ । टोल विकास संस्थाका अध्यक्ष भोजकुमार मास्के र सचिव योङचन्द्र आङ्बुहाङले नगद हस्तान्तरण गरेका हुन् ।

टोल विकास संस्थाले १० हजार एकसय ८० रुपैयाँ सहयोग गरेको नाट्य समूहका अध्यक्ष कल्पितले जानकारी दिए । कार्यक्रममा सामाजिक क्षेत्र पुरस्कारका लागि समूहका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीले पनि रकम हस्तान्तरण गरेका छन् ।

बाबुआमा यज्ञनिधि र रेणुका भण्डारी तथा श्रीमती चन्द्रकलाको स्मृतिमा वरिष्ठ उपाध्यक्ष भण्डारीले अक्षय कोषका लागि ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । जग्गा दाता मनोज निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सदस्य माधव सिटौलाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा झापा नाटक घर निर्माण अनुगमन समितिका संयोजक प्रेमप्रसाद खरेल, सदस्य मीरादेवी भट्टराई, वडा सचिव टीका अधिकारी, सामाजिक अभियन्ता रञ्जु प्याकुरेल, विवेचना दैनिकका सम्पादक सुब्रत न्यौपाने, विञ्जु मिडिया कर्नरका प्रवन्धक बिजय बराल लगायतको सहभागिता रहेको थियो ।