भद्रपुर नगरपालिकाद्वारा ७३ करोड ९२ लाखको बजेट पारित



 

गंगा बराल
भद्रपुर– भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि ७३ करोडभन्दा बढीको बजेट पारित गरेको छ । बुधबार शुरु भएको छैठौं नगरसभामा नगर प्रमुख जीवनकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एवम् उपप्रमुख चन्द्रमाया श्रेष्ठले प्रस्तुत गरेको बजेट बिहीबार छलफलपछि पारित गरिएको हो ।

नगरपालिकाले कोरोना महामारीको सम्भावित जोखिम समेतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । आन्तरिक तथा वाह्य पर्यटनलाई पनि ध्यानमा राख्दै नीति कार्यक्रम र बजेट निर्माण गरिएको नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

सभामा उपप्रमुख श्रेष्ठले ७३ करोड ९२ लाख ८१ हजार ६१० रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् । सो बजेटमा संघीय सरकारबाट सोझै भुक्तानी हुने सामाजिक सुरक्षा भत्ता र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम समावेश नरहेको उपप्रमुख श्रेष्ठले जानकारी दिइन् ।

सामाजिक विकास, आर्थिक विकास, वन वातावरण तथा विपद, पूर्वाधार विकास र संस्थागत विकास तथा सुशासन गरी पाँचवटा क्षेत्र वर्गीकरण गरी छुट्याइएको बजेटमा आन्तरिक आम्दानीतर्फ ४ करोड ४६ लाख अनुमान गरिएको छ ।

त्यस्तै, संघीय सरकारबाट प्राप्त हने ४६ करोड २१ लख, प्रदेश सरकारबाट प्राप्त हुने ८० लाख २५ हजार रुपैयाँ बजेटमा समावेश गरिएको छ । यसैगरी, संघ अन्तर्गत राजश्व बाँडफाँडबाट १० करोड ३९ लाख १० हजार ६१०, प्रदेश सरकारमार्फत राजश्व बाँडफाँडबाट ८३ लाख, घरजग्गा रजिष्ट्रेशन दस्तुर बाँडफाँडबाट २ करोड, अन्य निकाय, कार्यालय, संघ संस्थाबाट ४ करोड १८ लाख ३० हजार, स्थानीय वन उपभोक्ता समितिको राजश्व बाँडफाँडबाट ५ लाख र चालु आवमा खर्च हुन नसकेको ५ करोड रुपैयाँ आम्दानीको स्रोत हुने अनुमान गरिएको छ ।

‘पूर्वी क्षेत्रको व्यापारिकद्वार, शान्ति र समृद्धिसहितको भद्रपुर नगर’ भन्ने नारा आत्मसात गरेको नगरपालिकाले विषयगत रुपमा आर्थिक विकासतर्फ ३ करोड १७ लाख, स्वास्थ्य तथा शिक्षालाई समेत समेटिएको सामाजिक विकासतर्फ २७ करोड ५२ लाख ७ हजार, पूर्वाधार विकासतर्फ ३० करोड १५ लाख ८२ हजार, वातावरण तथा विपद व्यवस्थापनतर्फ १ करोड २ लाख ५० हजार र संस्थागत, सेवाप्रवाह र कार्यालय सञ्चालन खर्चतर्फ १२ करोड ५ लाख ४२ हजार ६१० रुपैयाँ विनियोजन गरेको छ ।

नगर प्रमुख श्रेष्ठले आगामी आवमा नगर गौरवका केही योजनाहरुलाई निरन्तरता दिने, कृषि क्षेत्रको विकास र रोजगारी सिर्जना, स्वास्थ्य सम्बन्धी सम्भावित जोखिम न्यूनीकरणका क्रियाकलापलाई नीति तथा कार्यक्रममा समेटिएको जानकारी दिए ।