बुवाले सिकाएको अनुशासनको पाठ



 

महेन्द्रकुमार गिरी

म जन्मिँदा मेरा बा धेरै खुशी हुनु भएको थियो रे ! छोरा जन्मिएको खुशीमा ११ छिमेकीहरुबाट तोरीको तेल ल्याई मलाई लगाई दिनुभएको थियो रे ! भगवानको आँखा नपरोस् भनेर बोलाउने नराम्रो नाम मितु राखिदिनु भएको थियो रे ! म पाँच बर्षको हुँदा नर्सिंङ पूजा लगाई दिनुभएको थियो ।

सामान्य बिरामी पर्दा पनि धामीहरु साउनिया, सतिलाल र नारीलाई झारफुक गर्न लगाउने तथा शनिश्चरेको बंगाली डाक्टर तथा चारपानेको बिजय डाक्टरकोमा उपचार गराउन लाने गर्दै सानोमा मलाई हुर्काउनु भएको थियो ।

आफू सामान्य लेखपढ भए पनि छोरोले राम्रोसँग पढोस् भन्ने उहाँमा चाहना थियो । त्यसैले घरैमा मास्टरको व्यवस्था गरेर तारा सञ्जेल सरलाई राख्नुभएको थियो । बासी भात खायो भने पढ्न आउँदैन भनेर बासी खान कहिल्यै दिनु भएन । छोरा पढी मात्र राखोस्, खराब केटाहरुको संगतले नबिग्रियोस् भन्ने बुवाको इच्छा थियो ।

यति निगरानी हुँदाहुँदै पनि बुवालाई छलेर आमाको स्वीकृतिमा गोठाला जाँदा एकपल्ट खैनी खाएर लठ्ठ परेको, कहिले बर्षे धान खेतमा ढोक्सा थाप्न, होलीमा माछा मार्न, घाग्रा खोला र पाटा खाडीमा पौडी खेल्न, काउडी भैंसीको डँडेल्नोमा बसेर चराउन गएको सम्झना ताजै छ ।

दिदीको घरग्वालीमा तास खेल्दै गर्दा बुवाले आएर बाँसको सिर्किनाले हानेको र भाग्दै घर पुगेर ढोका थुनेर चुकुल लगाई बसेको अविस्मरणीय सम्झनाहरु अहिले झल्झली आइरहेको छ । आज लाग्छ, ती सबै अनुशासनको पाठ सिकाउन बुवाले गर्नुभएको प्रयत्न रहेछ ।

बुवाले माया गरेर घोडामा राखेर शनिश्चरे बजार घुमाउन लगेको, दशैंमा टीका लगाउँदै आशिर्वाद दिएको, जुँगे घोष मिठाई बालालाई रसदाना र कान छेडेको दोकानीले झिलिया प्याजी किनिदिएको, एसएलसी पास हुँदा सी.को.घडी किनिदिएको, यी सबै बुवाको माया र कर्तव्यभित्र पर्थे होलान् ।

बुवा सानैमा पहाड भोजपुरको दिङ्लाबाट भाइबहिनीहरुलाई सँगै लिएर आसाम पुग्नु भएछ । त्यहाँ दक्षिण पहाडको चिया बगानमा पत्ती टिप्ने काम गर्दै परिवार पाल्नु भएको रहेछ । २०११ सालमा आसामबाट पाराखोपी–६ (हाल अर्जुनधारा– ५) मा बसोबास गर्दै खेतीपाती र धाना काँटा, किराना ब्यवसाय गर्दै गुजारा गर्दै बस्नु भएको रहेछ । त्यहीं नै आमासँग विवाहबन्धनमा बाँधिई घरजम गर्नुभएको रहेछ ।

सधैँ परिश्रम गर्नुपर्छ, ढाँटेर, ठगेर खानु हुँदैन भन्ने मेरो बुवा ८० बर्षसम्मको हुँदासम्म हलो जोत्नु हुन्थ्यो । तर, मलाई उहाँले कहिल्यै हलो जोत्न लगाउनु भएन । बुवाले मलाई सामाजिक कार्यमा लाग्ने कुरामा कहिल्यै रोक्नु भएन । म १३ बर्षको उमेरदेखि नै गाउँको संस्थामा लागेर सामाजिक कार्य गर्न थालिसकेको थिएँ ।

सांस्कृतिक कार्यक्रम गर्ने, पुस्तकालय सञ्चालन तथा विवाह, मर्दा–पर्दा स्वयम्सेवी रुपमा सघाउन जाने लगायतका कार्य गर्दै आएको थिएँ । बुवा पनि गाउँमा मर्दा–पर्दा, बिरामी कोही हुँदा, सरसापट सहयोग गर्नुहुन्थ्यो । पैसा कमाउन कहिल्यै पनि आशक्ति देखाउनु भएन ।

मेरो बुवा ठूलो ब्यक्तिभन्दा पनि समुदाय र घर परिवारको लागि असल व्यक्ति हुनुहुन्थ्यो । आज उहाँको प्रेरणा र सत्मार्ग प्रदर्शनले गर्दा सोही बाटोमा लाग्ने प्रयासमा छु । मसँग बुवाको खासै गुनासो रहेन होला ! शायद खुशी नै हुनुहुन्थ्यो होला छोराको प्रगति देखेर । विवाह गरेर केही समयपछि छुट्टिएर बस्न खोज्दा अलिकति गुनासो गर्नु भएको थियो ।

२०६६ सालमा आमा स्वर्गारोहण भइसकेपछि भने क्रमशः खस्किनुभयो । सायद श्रीमान् श्रीमतीभन्दा नजिक कोही हुँदैन जस्तो लाग्थ्यो बुवालाई देखेर । आमाको काजकिरिया सकेको १३ दिनको पुण्यतिथिमा बुवा सारै रुनु भएको थियो । लाटी लठेब्री जे भए पनि बोल्ने साथी त थिई भन्दै रुनु भयो । बुवासँगै हामी पनि रोयौं । बुवा पछिसम्म पनि बाकसमा राखिएका समवेदनाका फोटाहरु हेरेर भावविह्वल हुनुहुन्थ्यो ।

मैले बुवालाई एउटा खास मान्छे देखेको थिएँ । एउटा छोटो कदको तर प्रभाव र ओजपूर्ण बोली भएको ब्यक्ति । घोडामा चढेर ठाँटसँग हिँड्ने, छोराछोरी पाल्न सधैँ संर्घषरत् व्यक्ति जो खेतीपाती, व्यापार, व्यवसायमा लागीरहने । सामाजिक व्यक्तित्व मर्दापर्दा, सुख–दुःखमा आफन्त साथीभाइहरुलाई सहयोग गर्ने भावना भएको हुनुहुन्थ्यो ।

मैले बुवा क्रमशः शारीरिक मानसिकरुपमा बूढो हुँदै गएको देखेँ । तर, पनि बुवालाई हौसला बढाउँदै हामी भन्थ्यौं– १०० बर्ष कटाउनु पर्छ है भनेर । बुवाले जिन्दगीमा मसँग केही पनि माग्नु भएन बरु उल्टै हामीलाई पुग्ने सम्पत्ति छोडेर जानु भयो ।

अहिले पनि अफिसमा खाना पुर्याइ दिएको छ कि छैन भनेर सोधिरहने रे । बेलुका एकछिन भए पनि बाबुछोरा भलाकुसारी गरिन्थ्यो । बुवा स्वर्गवास हुनु दुई दिन अगाडि पनि एकका लागि एक अभियानको राष्ट्रिय समाचारमा छोरालाई देखेर खुशी हुनु भएको रहेछ ।

अब बुवा हामी बीच रहनु भएन । बुवा हुनुहुन्थ्यो र त हामी थियौं । अब सामाजिक र पारिवारिक दुबै जिम्मेवारी आफूमा सरेको महसुश भइरहेको छ । बृद्ध हुनुको पीडा पनि मैले नजिकबाट नियाल्ने मौका पाएँ । तपाईंले देखाएको सत्बाटोमा हामी सधैँ हिँड्ने प्रयत्न गर्नेछौं ।

तपाईको नामको सुवासलाई घटाउने कुनै पनि कार्य गर्ने छैनौं भन्ने प्रण गर्दछु । तपाईँ हामीलाई आकाशको तारा भएर संरक्षकत्व प्रदान गरिरहनु होला । बुवा हजुरको स्वर्गमा बास होस् । “कोटी कोटी नमन बुवा”