गाउँसभाले गरेको निर्णय बदर गरेर देखाउन चुनौति



 

बिर्तामोड– हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले गाउँसभाले बुधवार पारित गरेको नीति तथा कार्यक्रम र निर्णय बदर गरेर देखाउन चुनौति दिएका छन् ।

आफूमाथि आक्रमण गरेर सभास्थल छोड्न बाध्य बनाएपछि उपाध्यक्ष गिरीको नेतृत्वमा बहुमतको जोडबलमा नीति तथा कार्यक्रम प्रमाणीकरण गरिएको भन्दै अध्यक्ष रविन्द्र लिङ्देनले यो मान्य नहुने बताएका थिए ।

अध्यक्ष लिङ्देनले कानुनविपरीत गाउँसभा निर्णय प्रमाणीकरण गरिएको बताइरहँदा उपाध्यक्ष गिरीले त्यसलाई बदर गराएर देखाउन चुनौति दिएका हुन् ।

शुक्रवार पत्रकार सम्मेलन गरी उपाध्यक्ष गिरीले पूर्व नियोजित रुपमा गाउँसभा विथोल्ने प्रयास गरिएको दावी गर्दै त्यसको जिम्मेवारी अध्यक्षले लिनुपर्ने बताए ।

आफूमाथि हातपात र आक्रमण भएपछि सभास्थलबाट छोडेर हिँड्नु परेको अध्यक्ष लिङदेनले बताउँदै आएका छन् । गाउँसभा स्थगनको निर्णय सुनाउँदै गर्दा आफूमाथि हातपात भएको लिङदेनको दावी छ ।