बनियानी स्वास्थ्य केन्द्रमा फार्मेसी सेवा सञ्चालन



 

बनियानी–विपन्न समुदायलाई लक्षित गरी दक्षिणी झापाको कचनकवल गाउँपालिकाले फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ । बजार मूल्यभन्दा ३० प्रतिशत कममा खरिद गर्न पाइने सुलभ औषधि पसल कचनकवल–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको भवनमा आइतबारदेखि सञ्चालनमा ल्याइएको हो ।

झापा क्षेत्र नम्वर–३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले संक्षिप्त कार्यक्रमका बीच पसलको उद्घाटन गरेका छन् । सुलभ औषधि पसल सञ्चालक समितिका अध्यक्ष रविचन्द्र ओझाको अध्यक्षतामा कार्यक्रम भएके हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अञ्जरा आलम, उपाध्यक्ष निमसरी राजवंशी, ३ नम्बर वडा अध्यक्ष विजयकुमार राजवंशी, स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादव, स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत विशुद्ध भट्टराईले सेवाको निरन्तरताको शुभकामना व्यक्त गरेका थिए ।

सञ्चालन हेल्थ असिस्टेन्ट नविन मिश्रले गरेका थिए । फार्मेसीमा सय भन्दाबढी प्रकारका औषधि पाइने केन्द्रकी नर्सिङ इञ्चार्ज स्मृति पाण्डेले जानकारी दिइन् । केन्द्रमा स्वास्थ्य विमा कार्यक्रम पनि सञ्चालनमा रहेको र विमामार्फत पनि निःशुल्क औषधि बिरामीले पाउने गरेको पाण्डेले बताइन् ।

फार्मेसी सञ्चालनमा आएसँगै सुदूर दक्षिणी झापाका जनतालाई धेरै किसिमका औषधिका लागि भद्रपुर अथवा विर्तामोड धाइरहनु नपर्ने भएको छ । कोरोना भाइरसको त्रासका कारण फार्मेसी सञ्चालनमा ल्याउन केही ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष आलमले जानकारी दिए ।