मन लोभ्याउने आदर्श पर्या पर्यटकीय क्षेत्र



तीर्थ तिम्सिना, बुद्धशान्ति– झापाको बुद्धशान्ति–३ मा रहेको आदर्श नमूना सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिँदै छ ।आन्तरिक र बाह्य पर्यटक भित्र्याउने गरी वनले गुरूयोजनामार्फत् कामलाई निरन्तरता दिइरहेको सामुदायिक वन समितिका अध्यक्ष तिलनारान रिजालले बताए । उनले विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका समयमा समेत सामाजिक दूरी कायम गरी निर्माण कार्य भइरहेको सुनाए ।

१ सय ७७ हेक्टर क्षेत्रफल रहेको सामुदायिक वनमा बुद्धशान्ति गाउँपालिकाका साबिकका ८, ७, ५ र ९ वडाका १४७० घर उपभोक्ता रहेको वन समितिकी सचिव मिना अधिकारीले बताएकी छिन् । सामुदायिक वनको १ सय ७७ हेक्टर क्षेत्रफलमध्ये ५ हेक्टर क्षेत्रफललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै गरेको वनका कार्यलय सचिव भोजराज बास्तोलाले बताए । उनले ७ हेक्टर प्राकृतिक रवरले ढाकिएको र अरु बाँकी रहेको जमिन प्राकृतिक जंगल रहेको सुनाए ।

वन परिसरमा बाघ, हरिण, ढेडु, दुम्सी, मयुर, हात्ती, बाँदर, कालिज लगायतका वन्यजन्तु र महत्वपूर्ण जडीबुटीसमेत पाउन सकिन्छ । वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न प्रदेश सरकारले १३ लाख ७५ हजार, बुद्धशान्ति गाउँपालिकाबाट ९ लाख ५० हजार, डिभिजन वन कार्यालयबाट ३ लाख ८५ हजार रुपैयाँ रकम विनियोजन भएको अध्यक्ष रिजालले बताए ।

बिनियोजित रकमबाट पर्यटकलाई आकर्षण गर्ने बनभोज स्थल, पोखरी, खेलमैदान ,बालबालिकाले रमाउने चिप्लेटी, चाकाचुली, पिङ, लगायतका खेल सामाग्री, फुलबारी,बालबाटिका निर्माण भइरहेको छ । साबिक ७ नम्बर चोकमा पर्यटकलाई स्वागतका लागि फलामे गेट समेत निर्माण गरिएको छ । मानव स्वास्थ्यलाई समेत ध्यानमा राख्दै व्यायामशाला समेत निर्माण गरिएको छ । जहाँ १० भन्दाबढी प्रकारका व्यायाम गर्न सकिने बताइएको छ ।

यस क्षेत्र धार्मिक एवम् पुरातात्विक हिसाबले पनि महत्वपूर्ण रहेको छ । वनका छेउमा मन्दिर समेत रहेको छ । मन्दिरमा नियमित रुपमा पूजाआराधना गरिँदै आएको छ । प्राकृतिक रूपमा मनोरम रहेसँगै झापाकै पर्यटनमा सम्भावना बोकेको बुद्धशान्ति गाउँपालिकामा अरु धेरै पर्यटकिय सम्भावना बोकेका सिमसार क्षेत्र र ऐतिहासिक मठमन्दिर, गुम्बा रहेका छन् । स्थानीय सरकार, प्रदेश सरकारले अझ पर्यटन प्रवर्द्धनमा चासो देखाएर लगानी गर्ने हो भने स्थानीय नागरिकले रोजगारी समेत पाउने सरोकारवालाहरू बताउँछन्।