झापामा एकैदिन २० जनामा कोरोना



तीर्थ तिम्सिना, बिर्तामोड– झापामा बुधवार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा एक महिलासहित सात जनामा संक्रमण पुष्टि भएको हो ।

कोशीमा अस्पतालमा दुई महिला र चार पुरुष तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका दुई महिला र पाँच पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये झापाको मेचीनगरका सात, बुद्धशान्तिका पाँच, गौरादहका सात र गौरीगञ्जका एक जना रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । झापामा संक्रमितको संख्या २४९ पुगेको छ ।

असार १३ गते क्वारेन्टाइनमा बसेका ६२ जनाको पिसिआर विधिबाट स्वाब संकलन गरी कोसी अञ्चल अस्पताल विराटनगर पठाइएकोमा पाँच जनाको रिपोर्ट पोजेटिभ आएको बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिए । उनले बाँकी रहेका ५७ जनाको रिपोर्ट आउन बाँकी रहेको बताए।

बुधबार कोरोना पुष्टि हुनेमा दुई महिला र तीन पुरुष रहेका छन् । उनीहरु सबै बुद्धशान्तिकै बासिन्दा हुन् । उनीहरु कुवेत, भारतको दिल्ली, माल्दिप्स र साउदीबाट आएर बुद्धशान्तिको क्वारेन्टाइनमा बसेका थिए ।