पाँच घण्टा सडकमै रोकिए बेहुला, झिलझिले प्रहरीले ज्यादती गरेको जन्तीको आरोप



 

बिर्तामोड– सिराहाबाट आएका जन्तीलाई झिलझिले प्रहरीले पाँच घण्टा सडकमा रोकेर राति पौने १० बजे छोडिदिएको छ । माइक्रोमा पाँच जिल्ला पार गरेर आएका जन्तीलाई झिलझिले प्रहरीले बुधवार साँझ ५ बजेदेखि सडकमा रोकेको हो ।

सवारी पास नभएको भन्दै झिलझिले प्रहरीका निरीक्षक कोमल ठाकुर नेतृत्वको प्रहरी टोलीले बेहुला सवार ना १ ज ८८८५ नम्बरको माइक्रोबस पाँच घण्टा रोकेर छोडेको छ । प्रहरी निरीक्षक ठाकुरले झिलझिलेबाट अगाडि जान नदिने भन्दै जन्तीलाई थर्काएका थिए ।

भद्रपुर–५ बसपार्ककी मनिका यादवलाई लिन आएका बेहुला प्रदीपकुमार यादवलाई घर फिर्ता जान प्रहरी निरीक्षक ठाकुरले पटक–पटक दवाव मात्रै दिएनन्, पाँच घण्टा मानसिक तनाव पनि दिए ।

आफैँले नियन्त्रणमा लिएका ट्रिपर ‘माथिको आदेश’ का नाममा छोडिरहँदा प्रहरी निरीक्षक ठाकुरले जन्तीको गाडी भने छोड्न मानेनन् । जन्तीले जरिवाना तिरेर जान गरेको आग्रहलाई प्रहरी निरीक्षक ठाकुरले इन्कार गरे ।

राति पौने १० बजे प्रदेश प्रहरी कार्यालयको आदेशपछि जन्तीको गाडी छोडिएको हो । प्रहरीले दुःख दिएको भन्दै जन्तीले प्रदेश प्रहरी कार्यालयमा गुनासो गरेका थिए ।

घटनाका विषयमा प्रहरी निरीक्षक ठाकुरले सुरुमा प्रतिक्रिया दिन मानेनन् । ‘यस विषयमा मैले बोल्न मिल्दैन’, उनले भने, ‘एसपी सावलाई सोध्दा राम्रो हुन्छ ।’ उनले कसैलाई दुःखदिने प्रहरीको नियत नभएको बताउँदै आफ्नो ड्युटी मात्रै पूरा गरेको बताए ।

बिहेका लागि आएका दुई वटा गाडीमध्ये पास भएको बेहुलाको गाडी छोडिएको र पास नभएको अर्काे गाडी एकछिन रोकिएको उनको दावी छ ।