ढकाल परिवारद्वारा बाबुको जन्मदिनमा पीसीआर प्रयोगशालाका लागि सहयोग



 

बिर्तामोड– पीसीआर परीक्षण प्रयोगशालाका लागि पत्रकार लक्ष्मण ढकाल र उनको परिवारका सदस्यले ३८ हजार एक सय २१ रुपैयाँ सहयोग गरेका छन् ।

सामाजिक तथा धार्मिक व्यक्तित्व परशुराम ढकालको ९९ औँ बर्ष प्रवेशको उपलक्ष्यमा छोरा–बुहारी लक्ष्मण र दुर्गा, नातिहरु सौरभ र शेखर ढकालले उक्त रकम सहयोग गरेका हुन् ।

ढकाल परिवारले शनिवार ‘एकका लागि एक’ अभियानलाई सहयोग रकम हस्तान्तरण गरेको छ । अभियानका सह–संयोजक विनोद बस्नेत र साझेदार संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले रकम ग्रहण गरेका छन् ।

पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्ने कार्य प्रशंसनीय भएकाले बुबाको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै आफूहरुले सहयोग गरेको बुहारी दुर्गाले बताइन् । आफ्ना अभिभावकको जन्मदिनको अवसर पारेर ढकाल परिवारले गरेको सहयोग अमूल्य रहेको सह संयोजक बस्नेतले वताए ।

अन्तर्राष्ट्रिय झापाली समाज, सहकारी अभियान र कनकाई नगरपालिकाको संयुक्त लगानीमा एक करोड २० लाख रुपैयाँभन्दा बढीको लागतमा अत्याधुनिक पीसीआर परीक्षण प्रयोगशाला स्थापनाको तयारी अन्तिम चरणमा छ ।

सम्पूर्ण तयारी पूरा गरेर प्रदेश सरकारलाई पीसीआर परीक्षण प्रयोगशाला हस्तान्तरण गरिने ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले वताए ।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानमार्फत झापाको कनकाईमा पीसीआर प्रयोगशाला स्थापनाको तयारी भइरहेको छ ।

प्रयोगशाला कनकाई नगरपालिकाको कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा राखिने अभियानका संयोजक गिरीले जानकारी दिए ।