‘तत्काल बस चलाउन सकिँदैन’



 

बिर्तामोड– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातका साधन तत्काल नचल्ने जनाएको छ । २१ गतेदेखि सार्वजनिक यातायातका साधन चल्ने समाचार सार्वजनिक भएपछि महासंघले यसप्रति आश्चर्य व्यक्त गरेको हो ।

महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायातका साधन चलाउने विषयमा कुनै निर्णय नभएको बताए । ‘सरकारसँग अनौपचारिक छलफल भएको छ । तर, यस विषयमा कुनै निर्णय भएको छैन’, महासचिव सिटौलाले भने ।

सरकारले कोरोना भाइरसको सन्त्रासका बीच चैत ११ गतेदेखि लक डाउन गरेपछि सार्वजनिक यातायातका साधन ठप्प छन् । सरकारले उचित राहतको प्रवन्ध नगरेसम्म गाडी चलाउन नसकिने महासचिव सिटौलाले बताए ।

यातायात क्षेत्रमा आश्रित परिवार भोकभोकै परेको भन्दै महासंघले बैकको व्याज तिर्न पनि मुस्किल परिरहेको जनाएको छ ।