प्रधानमन्त्रीद्वारा मन्त्रीहरुलाई निर्देशन, ‘आफ्नो पोजिसन क्लियर गर्नुस्, सोच्ने समय छ’



 

झापा– राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेर आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ मन्त्रिमण्डलका सदस्यहरुलाई आ–आफ्नो ‘पोजिसन क्लियर’ गर्न निर्देशन दिएका छन् । राज्य मन्त्रीहरुलाई समेत बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

राष्ट्रपतिलाई महाअभियोग लगाउने र आफूलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने तयारी भइरहेको भन्दै ओलीले तपाईहरु कता उभिने हो ? सोच्नुस् भनेर मन्त्रीहरुलाई प्रश्न गरेका छन् । उनले सोच्नका लागि मन्त्रीहरुलाई समय दिएपछि नेकपाभित्र चुलिएको राजनीतिक संकट झन् जटिल मोडमा पुगेको छ ।

प्रधानमन्त्रीले आफ्ना कुरा राखेपछि मन्त्रीहरु घनश्याम भुसाल, वर्षमान पुन, पार्वत गुरुङ लगायतले बोलेका छन् । मन्त्री पुनले पार्टीमा छलफल भएको कुरा पार्टीले नै निर्णय गर्ने बताइरहँदा अर्का मन्त्री गुरुङले प्रधानमन्त्रीलाई हटाउन खोजे आफूहरु पनि संसदीय दलमा बहुमत पुर्याउन लाग्ने धारणा राखे ।

‘आफू र राष्ट्रपतिका विरुद्ध भएका षडयन्त्रहरुलाई बाइफोर्स, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’, प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग भनेका छन्, ‘तपाईहरुलाई कता लाग्ने भनेर सोच्ने समय छ, सोच्नुस् ।’ प्रधानमन्त्रीको यो भनाइका बीच केही मन्त्री राजीनामाको मनस्थितिमा पनि पुगेको नेकपा निकट स्रोतले जनाएको छ ।