१० लाख यातायात मजदूरको रोजगारी संकटमा



 

झापा– सार्वजनिक यातायात नचलेपछि व्यवसायी र मजदूर संकटमा परेका छन् । सार्वजनिक र निजी गरी १० लाख भन्दाबढी मजदूरको रोजगारी गुमेको छ भने व्यवसाय पनि धरापमा परेको छ ।

यातायात व्यवस्था विभागका अनुसार लक डाउन यता सार्वजनिक यातायातका क्षेत्रमा काम गर्ने नौ लाख जनशक्ति रोजगार र आम्दानीविहीन भएको छ । मालवाहक सवारी साधनमा १ लाख २० हजारको रोजगारी गुमेको छ । १६ हजार ट्याक्सी चालक पनि कामविहीन छन् ।

कोरोना भाइरसको संक्रमण फैलिँदो क्रममा रहेकाले तत्काल सार्वजनिक सवारी चलाउन सकिने अवस्था छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले राहतको व्यवस्था नगरेसम्म सार्वजनिक यातायात सञ्चालन नहुने बताए ।