विदेशीलाई नागरिकता बनाइदिने प्रशासनका अधिकृत जेल चलान



 

विदेशी नागरिकलाई नेपाली नागरिकता बनाई दिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालयका एक जना अधिकृत जेल चलान भएका छन्। झापा जिल्ला अदालतको आदेशपछि तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई साेमबार कारागार चलान गरिएको हो ।

महानगरीय प्रहरी परिसर सँगको समन्वयमा झापाबाट प्रहरी निरीक्षक साकार पन्त नेतृत्वमा खटिएको प्रहरी टोलीले प्रशासकीय अधिकृत आचार्यलाई काठमाडौंबाट पक्राउ गरेको थियो । आचार्यलाई आइतबार झापा जिल्ला अदालतमा उपस्थित गराइएकोमा सोमबार जिल्ला अदालतले कारागार चलान गर्न आदेश दिएको हो ।

२०७२ मङ्सिर १० मा झुटो विवरणका आधारमा बिदेशी नागरिकलाई नेपाली नागरिकता र राहदानी बनाइदिएको  मुद्दामा झापा जिल्ला अदालतले आचार्य बिरुद्ध वारेण्ट जारी गरेको थियो । त्यसयता उनी फरार रहँदै आएका थिए ।