नेपाल प्रहरीको प्रमुखमा शैलेश थापा क्षेत्री नियुक्त



 

झापा– सरकारले नेपाल प्रहरीको प्रमुखमा अतिरिक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउनु एक दिनअघि मन्त्रिपरिषद्ले थापालाई प्रहरी प्रमुख नियुक्त गरेको हो । भोलि ज्ञवालीले अनिवार्य अवकास पाउँदैछन् ।

२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहबाट थापाले २८ औं महानिरीक्षक बन्ने अवसर प्राप्त गरेका छन् ।थापाले १८ वैशाख २०७९ सम्म नेतृत्व सम्हाल्नेछन् । संगठनमा बौद्धिक र इमान्दार अधिकृतको छवि बनाएका थापा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेबाटै आफ्नो ब्याचको पहिलो नम्बरमा रहन सफल हुँदै आएका थिए ।

२०४९ सालमा प्रहरी निरीक्षकको रुपमा सेवा प्रवेश गरेका थापाले महानिरीक्षक बन्दा आफ्नै ब्याचका प्रतिस्पर्धी एआईजी हरिवहादुर पाललाई उछिन्दै थापा महानिरीक्षक बन्न सफल भए । प्रहरी नायव उपरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षक बढुवा हुँदा कार्यसम्पादन मूल्याङ्कनका आधारमा १ नम्बरमा रहेका थापालाई वरिष्ठताकै आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गरिएको हो ।

थापा राजनीतिक लबिङविनै संगठनले माया गरेर वरियतामा अगाडि बस्न सफल अधिकृत हुन् । थापाको व्यवसायिक जीवनको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ । उनले इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदा एकेडेमी र सचिवालयमा काम गरेका छन् ।

इन्स्पेक्टर हुँदा उनले सल्यान, सिन्धुपाल्चोकमा काम गरेका छन् । प्रहरी नायब उपरीक्षक हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमाण्ड गरेका छन् । प्रहरी उपरीक्षकमा बढुवा भएपछि उनी कास्की र झापा जिल्ला प्रहरी प्रमुख भएका थिए । संगठनको नीति निर्माण तहमा धेरै समय बसेर काम गरेका थापा शालिन व्यक्तित्वका रुपमा चिनिन्छन् । पाँच महानिरीक्षकसँग काम गरेका थापा नीति निर्माण, अनुसन्धान र चेनअफ कमाण्डको कार्यान्वयनमा सफल मानिन्छन्।

को हुन महानिरीक्षक थापा ?
२०२५ साल मंसिर २३ गते भक्तपुर सुर्यविनायक नगरपालिका–५ साविक कटुन्जे गाविस–९ मा जन्मिएका थापा २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । थापाका बाबु पूर्व डिआइजी हुन् ।

बाबुको प्रेरणाबाट प्रहरी सेवामा प्रवेश गरेका थापाले भक्तपुरको शारदा माध्यामिक विद्यालयबाट २०४० सालमा एसएलसी पास गरेका थिए। नेपाल कर्मश क्याम्पस मीनभवनबाट ब्याचलर पास गरेका थापाले त्रिभुवन विश्वविद्यालयबाट पोलटिकल साइन्समा मास्टर्स गरेका छन् ।

थापाले नेपाली प्रहरी एकेडेमी, अमेरिकाको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेशन र आर्मी  स्टाफ कलेजबाट ग्रेजुएसन गरेका छन् । थापा बोस्निया, पूर्वी टिमोर र सुडान मिसनमा खटिएका थिए। संगठनको कामको सिलसिलामा थापा २२ वटा भन्दाबढी देशमा पुगेका छन् । दुई पटक बाहेक संगठनमा उनी सधैँ पहिलो भए ।