ममाथि अन्याय भयो अदालत जान्छु : गिरी



झापा– समाजवादी पार्टीकी सांसद सरिता गिरीले आफूमाथि अन्याय भएको भन्दै अदालत जाने बताएकी छन् । समाजवादी पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेपछि उनको यस्तो चेतावनी आएको हो । पार्टीले मंगलबार कारबाही गर्ने निर्णय गरेलगत्तै उनले पार्टीको निर्णय अवैधानिक भएको बताएकी छन् ।

भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिम्पियाधुरा सहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा अनुसारको निशान छाप बनाउन गरिएको संविधान संशोधनका लागि संसदमा भएको मतदान गिरीले बहिस्कार गरेकी थिइन् ।

पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै उनलाई कारबाही गर्न कार्यदल गठन गरिएको थियो। कार्यदलको सिफारिसका आधारमा गिरीमाथि कारवाही प्रक्रिया अघि बढेको हो ।