‘उच्च मनोबल भएको नेताको खाँचो’



 

बिर्तामोड– नेपाली कांग्रेसका सभापति उद्वव थापाले राजनीतिमा गिरिजाप्रसाद कोइरालाको योगदान अविष्मरणीय भएको बताएका छन् । उनले अहिले मुलुकका लागि कोइराला जस्तै निडर र उच्च मनोवल भएको नेताको आवश्यकता रहेको बताए ।

सभापति थापा बुधवार पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीको अवसरमा बोल्दै थिए । जीपी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्माले राजनेतामा हुने असल चरित्र कोइरालामा रहेको बताए ।

जिल्ला सचिव प्रेम सम्बाहाम्फेले गिरिजाप्रसाद कोइरालालाई भेट्दा छुट्टै ऊर्जा प्राप्त हुने बताउँदै कोइरालाले अनुशरण गरेको बाटोमा अहिलेको राजनीति नचलेको धारणा राखे ।

कार्यक्रममा प्रवक्ता लोकराज ढकाल, नेपाल महिला संघ झापा सभापति सुशिला ढकाल, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली लगायतले बोलेका थिए ।

जी.पी. फाउण्डेशन झापाका अध्यक्ष बुद्धि न्यौपानेको अध्यक्षता र सचिव महेन्द्र भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा दीपक काफ्लेले स्वागत गरेका थिए ।