पीसीआर प्रयोगशालाका लागि एकै दिन १९ लाख संकलन



 

बिर्तामोड– जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालन हुने निश्चित भएपछि दाताहरु रकम हस्तान्तरण गर्न उत्साहित भएका छन् ।

बुधबार मात्र दाताहरुले एउटै कार्यक्रममा १९ लाख रुपैयाँभन्दा बढी रकम सहयोग गरेको ‘एकका लागि एक’ अभियानका संयोजक एवम् परिकल्पनाकार महेन्द्रकुमार गिरीले बताए ।

दाताहरुले स्वतस्फूर्त रकम सहयोग गर्ने क्रम जारी रहेको छ । कार्यक्रममा १९ लाख १४ हजार ७९५ रुपैयाँ प्राप्त भएको छ । संस्थागत रुपमा सात लाख ८९ हजार ७५८ र व्यक्तिगत रुपमा ११ लाख २५ हजार ३७ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

बुधबार २४ वटा संस्था र ३२ जनाले व्यक्तिगत रुपमा सहयोग हस्तान्तरण गरेको अभियानका सचिवालय प्रमुख गोपाल भट्टराईले जानकारी दिए ।

रकम ग्रहण कार्यक्रममा अभियानको तर्फबाट संयोजक गिरी, सह संयोजक विनोद बस्नेत, सदस्यहरु मदनगोपाल सुब्बा, कुमार भट्टराई, ओमकृष्ण बिमली, हरि शर्मा, कुमारमणि पोखरेल, शिवकुमार कडेल, गजेन्द्र पौडेल, सञ्जीव घिमिरे, निर्मल भट्टराई, अर्जुन चुडाललगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण पत्रकार एकराज गिरीले गरेका थिए ।