मेचीनगरको नीति तथा कार्यक्रम सार्वजनिक



मेचीनगर– मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । यसअघि देखिएको विवाद सुल्झाउँदै नगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको हो । धुलावारीको स्वास्थ्य केन्द्रलाई २५ शैयाको अस्पताल र मेची आम्दा हस्पिटललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने नगरको स्वास्थ्य नीति छ ।

नगर प्रमुख विमल आचार्यको अध्यक्षतामा भएको छैठौ नगरसभामा प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको उपस्थितिमा उपप्रमुख मीना पोखरेलले आगामी आर्थिक वर्ष २०७७÷२०७८ को वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिन् ।

चालु खर्च कटौती गरी पूँजीगत खर्च बृद्घि गर्न कार्यालय समयभित्र हुने खाजा खर्च वाहेक कार्यालय समयभित्र कार्यालयका कर्मचारी मात्रको बैठकको लागि भत्ता नदिने नीति अवलम्बन गरिएको छ । उप प्रमुख पोखरेलले हरेक वडाका लागि एक करोड बजेट छुट्टयाइएको बताइन् ।

नगरपालिकाले चालुु आर्थिक वर्षमा सवारी साधन, यान्त्रिक साधन, आइटीका सामान, फर्निचर, सजावटका सामग्री आदि खरिद नगर्ने निर्णय गरेको छ । नगरपालिकाको वेबसाइटमार्फत सार्वजनिक गरेर मात्र एक लाखभन्दा माथिको रकमको भुक्तानी प्रक्रिया अघि बढाउने नयाँ नीति लिइएको छ ।

नगरभित्रका विकासे आयोजनामा २५ लाखसम्म उपभोक्ता समितिमार्फत काम सम्पन्न गराउने नगरपालिकाको नीति छ । नगरभित्रका सर्वाधिक करदाता र उद्योगी व्यवसायीलाई सम्मानित गर्ने, उत्पादनमा आधारित अनुदान नीति लागू गरिने उपप्रमुख पोखरेलले बताइन् ।

सहकारी, निजी फर्म र साना उद्यमीहरुलाई ग्रेडिङ, प्याकेजिङ, लेबलिङमा अनुदान दिने, भूमि बैङ्कको स्थापना गर्ने, शित भण्डारसहितको थोक कृषि बजारको व्यवस्थापन गर्ने, चिया, मरिच, रुद्राक्ष, मेवा, कागती, खोर्सानी लगायतका नगदे बालीको व्यावसायिक उत्पादनको सिञ्चाइका लागि अनुदानको व्यवस्था गरिने, सुपथ मूल्यमा विपन्न परिवारलाई खाद्य वस्तु दिन नमुना परियोजना सञ्चालन गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

उपप्रमुख उप्रेतीका अनुुसार ‘जनताको उत्पादन, सरकारको मूल्य, सहकारीको बजार व्यवस्थापन’ भन्ने नारा अनुरुप कृषक, कृषि फर्म, कृषक समूहबाट उत्पादित कृषि उपजलाई न्यायोचित मूल्य कायम गरी कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थामार्फत कृषकको घर आँगनबाटै खरिद तथा बजारिकरणका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।