अलैँची व्यवसायी महासंघद्वारा प्रयोगशालाका लागि २१ हजार सहयोग



 

झापा– नेपाल अलैंची व्यवसायी महासंघले जनस्तरबाट स्थापना गर्न लागिएको पीसीआर परीक्षण प्रयोगशालाका लागि २१ हजार रुपैयाँ सहयोग दिएको छ ।

झापाको विर्तामोडमा विहीबार आयोजित कार्यक्रममा महासंघका महासचिव सुवास भट्टराईले उक्त रकमको चेक हस्तान्तरण ‘एकका लागि एक’ अभियानका सह संयोजक विनोद बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।

पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुनु झापावासीका लागि गौरवको विषय भएको महासचिव भट्टराईले बताए । यसअघि बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोषमा महासंघले एक लाख रुपैयाँ प्रदान गरेको थियो ।

कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक बस्नेतले पीसीआर परीक्षण प्रयोगशालाका लागि नेपाल अलैंची व्यवसायी महासंघले गरेको सहयोग प्रशंसनीय रहेको बताए ।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा शुरु गरिएको एकका लागि एक अभियानको अगुवाईमा प्रयागेशाला स्थापनाको काम अन्तिम चरणमा पुगेको छ ।