राजीनामाको प्रस्ताव स्थायी समितिमा पेश गर्ने तयारी



 

झापा–सत्तारुढ नेकपाको विवाद समाधानका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पदबाट राजीनामा दिनुपर्ने औपचारिक प्रस्ताव स्थायी समिति बैठकमा पेस गर्ने तयारी भएको छ।

पटक–पटक स्थगित गरिएको बैठक शुक्रबार बोलाइएको छ। शुक्रबार बिहानसम्म कुनै समझदारी विकास भएन भने ओलीले एक पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव पेस हुने एक सचिवालय सदस्यले बताए।

‘अहिलेको बटमलाइन नै ओलीको राजीनामा हो। अब बस्ने बैठकमा सो प्रस्ताव एजेन्डाको रुपमा प्रस्तुत हुन्छ,’ ती नेताले भने। यसलाई ओलीले नटेरे विधानअनुसार पार्टीले निर्णय गर्ने पनि उनले दाबी गरे।

‘उहाँले राजीनामा दिन्नँ भनेर धेरै पटक भनिसक्नुभयो। उहाँले राजीनामा दिनुको विकल्प नै छैन, नदिए विधानबमोजिम पार्टीले निर्णय गर्छ,’ उनले भने।

पछिल्ला दिन ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटमा कुरा सुन्ने र सुनाउने मात्र काम भएको भन्दै ती नेताले अब बस्ने स्थायी समिति बैठकले निकास दिनैपर्ने बताए।