नेकपाको स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित



 

बिर्तामोड – तीव्र विवादका बीच नेकपा स्थायी कमिटीको बैठक थप सात दिनका लागि स्थगित भएको छ ।  अविरल वर्षापछि आएको बाढीले धनजनको क्षति हुन थालेपछि पार्टी पंक्तिलाई उद्धार तथा राहतमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत स्थायी कमिटी बैठक स्थगित भएको जनाएका छन् । पूर्वनिर्धारित मिति अनुसार आज विहान ११ बजेका लागि नेकपा स्थायी कमिटीको बैठक बोलाइएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको प्रस्ताव पेश गर्ने तयारी भइरहेको थियो । नेकपा स्थायी कमिटीका अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि आन्तरिक विवाद उत्कर्षमा छ ।

पार्टी विभाजनको संघारमा पुगेको भन्दै नेता कार्यकर्ताले  प्रचण्ड र ओली बीच सहमति हुनुपर्ने जनाउँदै आएका छन् । अध्यक्ष ओली र प्रचण्ड बीच सहमतिका लागि भनेर पटक पटक बैठक स्थगित गरिए पनि सहमतिको प्रयासले भने सार्थकता पाउन सकेको छैन ।