उर्लियो सप्तकोसी, ५६ मध्ये ३८ ढोका खोलिए



 

सुनसरी– अविरल वर्षापछि सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेको हो । शुक्रबार बिहानबाट पानीको बहाव उच्च भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार सप्तकोसी ब्यारेज भएर २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भइरहेको छ ।

खड्काका अनुसार ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ । पानीले खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन भनिएको खडकाले बताए ।

सप्तकोसीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको छ ।