यौनकर्मीका रुपमा रोहिन्ज्या किशोरी काठमाडौँमा बेचिने गरेको अमेरिकी दावी



झापा–बङ्लादेशबाट रोहिन्ज्या किशोरीहरूलाई यौन बेचबिखनका लागि काठमाडौँ ल्याइने गरिएको हालै एउटा अमेरिकी प्रतिवेदनमा सार्वजनिक गरिए पनि नेपाली अधिकारीहरूले त्यस्ता घटनाबारे जानकारी नभएको बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयले दुई साताअघि सार्वजनिक गरेको मानव बेचबिखनसम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनमा रोहिन्ज्या किशोरीहरूलाई नेपालमा ल्याइने गरिएको उल्लेख गरेको थियो।

नेपालमा झण्डै साढे तीन सयको सङ्ख्यामा म्यानमारबाट भागेर आएका रोहिन्ज्या मुस्लिमहरूको बसोबास रहे पनि सरकारले उनीहरूलाई शरणार्थीको मान्यता दिएको छैन।

सुरक्षा निकाय र अधिकारवादी सङ्घ संस्था दुवैले यौनकर्मीका रूपमा रोहिन्ज्या किशोरीहरूलाई नेपाल ल्याइएको कुरा आफूहरूको जानकारीमा नरहेको जनाएका छन्।

सन् २०२० को नेपालसम्बन्धी प्रतिवेदनको १६ औँ पृष्ठमा मानव तस्करहरूले बङ्लादेशमा रहेका शरणार्थी शिविरबाट रोहिन्ज्या किशोरीलाई यौन बेचबिखनका लागि काठमाडौँ ल्याउने गरिएको उल्लेख छ। बीबीसीबाट