कोरोना संक्रमित थप तीन जनाको मृत्यु



 

झापा–नेपालमा कोरोना संक्रमित थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार यो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक जनाको मृत्यु भएको बताए ।

काठमाडौं महानगरपालिका १० शंखमुल घर भएका ६० वर्षीय पुरुषको २६ असारमा मृत्यु भएको हो । फोक्सोमा पानी जम्नुका साथै मिर्गौलामा समेत समस्या भएपछि उनी असार १६ मा पाटन अस्पताल भर्ना भएका थिए ।

त्यसैगरी काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो । मिर्गाैला रोगी उनी अस्पताल भर्ना भएपछि स्वाशप्रश्वासमा समस्या देखिएको थियो ।

परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । उनको २५ असारमा मृत्यु भएको डा.गौतमले बताए । सिन्धुपाल्चोकको पाँचपोखरी–६ घर भएका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारको क्रममा २५ असारमा निधन भएको थियो ।

क्षयरोगका विरामी उनी १८ असारमा अस्पताल भर्ना भएको मन्त्रालयले जनाएको छ । असार २२ मा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । थप तीन जनाको मृत्युसँगै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।