बिर्तामोड प्रहरीद्वारा नक्कली भारुसहित तीन जना पक्राउ



बिर्तामोड– नक्कली भारतीय रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले उनीहरुलाई समातेको हो ।  पाँचसय दरको एक लाख ४४ हजार नक्कली भारतीय रुपैयाँसहित उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

पक्राउ पर्नेमा झापा कन्काई–३ का ४३ वर्षीय मौसम श्रेष्ठ, कनकाई–४ का खुर्सेद आलम र झापा गाउँपालिका–५ का एराजुल हक रहेका छन् । उनीहरुमाथि अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । बरामद नोटमध्ये तीन वटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ ।

पक्राउ परेकामध्ये श्रेष्ठ सुनचाँदी व्यवसायी हुन् । मिटर व्याज कारोवारमा पनि उनको संलग्नता रहने गरेको प्रहरीले बताएको छ । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले पक्राउ परेका दुवै जनालाई खोटाचलन सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको बताए ।