सागका पदक बिजेता खेलाडीलाई सम्मान



 

मोरङ– प्रदेश १ सरकारले साग प्रतियोगितामा पदक विजेता आफनो प्रदेशका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । पदक विजेता खेलाडीको बैंक खातामा नगद पुरस्कार जम्मा गरिदिएको प्रदेश सरकारले उनीहरुलाई बुधवार सम्मान गरेको हो ।

सागमा प्रदेश १ का ९८ जनाले पदक प्राप्त गरेका थिए । कतिपय खेलाडीहरु विभिन्न विधामा पदक प्राप्त गर्दा दोहोरिएका कारण ८८ जना खेलाडीलाई प्रदेश सरकारले पुरस्कारसहित सम्मान गरेको छ । पदक प्राप्त खेलाडीलाई ८० लाख नगद उनीहरुकोे खातामा जम्मा गरिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्मान र पुरस्कार प्राप्त गरेपछि खेलाडीले प्रदेश सरकारले गरेको सम्मानबाट आफूहरुलाई खेल क्षेत्रमा थप हौसला बढेको बताएका छन्   खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई प्रदेश १ सरकारले उच्च प्राथमिकता दिएको बताए ।

‘खेलाडीहरुले देशको इज्जत, प्रतिष्ठा र शान बढाएका छन्’, उनले भने, ‘खेलकुद क्षेत्र अब छायाँमा पर्दैन ।’  खेलकुद क्षेत्रमा राजनीतिकरण गर्नु नहुने मुख्यमन्त्रीको धारणा छ ।

प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प उनले गरेका छन् । कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले खेलकुदलाई पेशको रुपमा लिनुपर्ने धारणा राखे । साग पदक विजेता खेलाडीका कारण प्रदेश सरकार गौरवान्वित भएको भन्दै मन्त्री घिमिरेले खेलकुदलाई जीविकोपार्जनको माध्यम रुपमा समेत लिनु पर्ने बताए ।