दैबको लीला : बाढीले घर बगायो, खान अन्न छैन, भोकै छन् बालबालिका



 

बिर्तामोड– मागेर बनाएको घर कनकाईको बाढीले बगायो । खुला आकाशमुनि आइपुग्दा रेडक्रसले एउटा त्रिपाल दियो । स्थानीयले छाप्रो बनाउन सहयोग गरे । तर, त्यही छाप्रोमा दुई दिनदेखि आगो बलेको छैन । नाबालक तीन जना छोराछोरी भोकभोकै छन् । बर्खामा छोराछोरी छोडेर उनी काममा जान पनि सकेकी छैनन् । कस्तो नियति । जता फर्किए पनि दुखको पहाड उभिए जस्तो लाग्छ, झापाको शिवसताक्षी–१० की तारा शेर्मालाई ।

घर बनाएर बसौँ जग्गा छैन । जग्गा भए घर बनाइदिन्छौँ भन्छन् छरछिमेकी । नगरपालिकामा गएर कुरा राख्न कसैसँग चिनजान छैन । जनप्रतिनिधि आफ्नै तालमा छन् । अनेकौँ दुःखको भारीले थिचिँदा तारासँग थकान मात्रै छ । एकातिर भोकले छोराछोरी रुन्छन्, अर्कातिर जीवन कसरी चलाउने भन्ने चिन्ता छ । उनले केही सोच्न सकिरहेकी छैनन् । पाँचथरको माङजाबुङबाट बसाईं आएकै साल श्रीमान्को मृत्यु भएपछि उनले मागेरै बिहान बेलुकाको छाक टारिन् ।

छ र सात वर्षका दुई छोरी र अढाई वर्षका एक छोराकी आमा तारा यतिबेला साँच्चै अफ्ठ्यारोमा छिन् । झापाको भद्रपुरस्थित एकल महिलाका लागि मानव अधिकार र एविसी नेपालका पदाधिकारी उनको छाप्रोमा पुगे । भोकले रोइरहेका नानीहरु देख्दा उनीहरुको पनि मन कुँडियो । मानव अधिकारका लागि एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीले बिस्कुट दिएपछि उनीहरु रुन छोडे ।

ती दुई संस्थाले शेर्माको अस्थायी छाप्रोमा पुगेर लत्ता कपडा, खाद्यान्न लगायतका सामग्री सहयोग गरेका छन् । राहत दिन गएको टोलीमा एबिसी नेपालकी अध्यक्ष कञ्चना ढकाल, इन्दिरा न्यौपाने र देवीका बस्नेत पनि थिए । बाढीबाट विस्थापित अन्य परिवारलाई पनि उनीहरुले राहत बाँडे । सुत्केरीलाई न्यानो कपडा दिए । केटाकेटीलाई फलफुल दिए ।

कनकाई धाममा आउने पुजारीबाट चामल, रुपैयाँ मागेर छाक टार्दे आएकी तारा लकडाउन यता मागिखान पनि बन्द भएको बताउँछिन् । स्थानीय पदमवहादुर श्रेष्ठले तारालाई सहयोग गर्दै आएका छन् । श्रेष्ठ पनि बाढी विस्थापित हुन् । सरकारी राहत कतैबाट पनि नपाएको तारा बताउँछिन् । श्रीमान्को मृत्युपछि उनलाई छोराछोरी हुर्काउन हम्मे परेको छ ।