तीन जना शिक्षक निष्कासन गरेपछि लिवर्टी स्कूल विवादमा



झापा– विर्तामोड–५ स्थित लिवर्टी अंग्रेजी माध्यमिक विद्यालयले विद्यालयमा कार्यरत तीन जना शिक्षक कर्मचारी निष्कासन गरेको छ । विद्यालय स्थापनाकालदेखि कार्यरत वेदनिधि रिमाल, चार वर्षयता कार्यरत सीता कार्की र दुई वर्षयता कार्यरत मञ्जु कोइरालालाई निष्कासन गरिएको हो ।

विद्यालयका प्रिन्सिपल पुरन विष्टले मौखिक सूचना दिएर विद्यालयमा कार्यरत तीन जना शिक्षक निष्काशन गरेका हुन् । लक डाउनका कारण समस्यामा परेका शिक्षकलाई निष्कासन गरेर झन् अन्याय गरिएको पेशागत संघसंस्थाको ठहर छ ।

प्रिन्सिपल विष्टले राख्ने निकाल्ने आफ्नो अधिकार भएको भन्दै ऐन नियमको परिधिले नछुने बताए । पीडितले संस्थागत विद्यालय युनियन विर्तामोड नगरपालिका तथा जिल्ला कार्य समितिमा उजुरी दिएका छन् ।

पीडित शिक्षक वेदनिधि रिमालले शैक्षिक वर्ष २०६४ मा स्थापना भएदेखि निरन्तर शिक्षण सेवा दिइरहेको बताउँदै यस वर्षको शैक्षिक सत्र सुरू हुन नपाउँदै अब विद्यालयमा नआउनु भनेर फोनमार्फत सूचना गरिएको बताए ।

पाँच दिनभित्र निर्णय नसच्चिए लिवर्टी स्कुलले कानुनी उल्झन सामना गर्न तयार रहनुपर्ने भन्दै संस्थागत विद्यालय शिक्षक युनियन झापाका अध्यक्ष होमराज खतिवडाले शैक्षिक वातावरण बिग्रिने गरी लाग्न नहुने बताउँछन् ।