महासंघको चुनावमा डालमिया र घिमिरे केन्द्रीय सदस्यका उमेद्वार



 

भद्रपुर– नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशन नजिकिँदै जाँदा देशभरि चुनावी चहलपहल देखिन थालेको छ । यसै क्रममा, झापा उद्योग वाणिज्य संघले महासंघको आसन्न निर्वाचनमा खुलातर्फको केन्द्रीय सदस्य पदको उम्मेदवारीका लागि संघका पूर्व अध्यक्ष उमेश डालमियाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

यसैगरी, महासंघको संस्थापक सदस्यको हैसियतले प्राप्त हुने संस्थापकतर्फको केन्द्रीय सदस्य पदका लागि संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार घिमिरेलाई पठाउने निर्णय पनि संघले गरेको छ ।

संघको सभाहलमा अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा बुधबार सम्पन्न नियमित मासिक बैठकमा ती नाम सिफारिस गर्न कार्यसमितिले सर्वसम्मत निर्णय गरेको महासचिव पंकज शर्माले जानकारी दिए ।

उद्योग वाणिज्य क्षेत्रमा लामो समयदेखि सफल नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका डालमिया महासंघको बर्तमान कार्यसमितिमा केन्द्रीय सदस्यको जिम्मेवारीमै छन् । गत निर्वाचनमा खुलातर्फको केन्द्रीय सदस्य पदमा उनी सर्वाधिक मत ल्याएर विजयी बनेका थिए ।

केही वर्षअघि झापामा देखिएको मिसम्याच प्रकरणमा पीडित उद्योगी–व्यवसायीको पक्षमा साहसका साथ दर्विलो रुपमा उभिएका डालमिया पीडित व्यवसायीलाई राहत दिलाउन सफल भएका थिए ।

यस्तै, संस्थापकतर्फको केन्द्रीय सदस्य पदका लागि सिफारिस गरिएका घिमिरे दुई कार्यकाल झापा उद्योग वाणिज्य संघको नेतृत्व सफलतार्पूक निर्वाह गरिसकेका परिश्रमी उद्यमी हुन् । मुलुकमा द्वन्द्व उत्कर्षमा रहेको बेला संघको अध्यक्ष रहेका घिमिरेले झापालाई बन्दमुक्त क्षेत्र बनाउन निकै प्रयास गरेका थिए ।

दुई कार्यकाल सकेर संघबाट विदा लिएपछि नेपाल अलैंची व्यवसायी महासंघको संस्थापक अध्यक्ष बनेर अलैंची व्यवसायी तथा किसानलाई गोलबद्ध गरी अलैंची क्षेत्रको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेलेका घिमिरे स्पष्ट र प्रखर वक्ताका रुपमा पनि परिचित छन् ।

बैठकले साउन २६ र २७ गतेलाई काठमाडौंमा हुने तय भएको महासंघको महाधिवेशनमा प्रतिनिधिका रुपमा अध्यक्ष नवराज पनेरु र विशिष्ट सदस्य अजय साहेवालालाई पठाउने निर्णय पनि गरेको छ ।