पीसीआर प्रयोगशालाका लागि सहकारी अभियानको २५ लाख



बिर्तामोड– सहकारी अभियानले जनस्तरबाट स्थापित पीसीआर परीक्षण प्रयोगशालाका लागि २५ लाख रुपैयाँ दिएको छ । झापा जिल्ला सहकारी संघले सहकारी अभियानमार्फत संकलन गरेको रकम शनिवार हस्तान्तरण गरेको हो ।

‘एकका लागि एक अभियान’ को अगुवाईमा सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा कनकाई–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा प्रयोगशाला स्थापना गरिएको छ ।

सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा सुरु भएको अभियानमार्फत प्रयोगशाला सञ्चालनको तयारी भइरहेको छ ।

राष्ट्रिय सहकारी बैकका लेखा प्रमुख लक्ष्मी उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका अध्यक्ष गणेश ढकालले ‘एकका लागि एक’ अभियानका सह संयोजक विनोद बस्नेतलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

‘एकका लागि एक’ अभियानमा हालसम्म देश तथा विदेशका एक सय भन्दावढी संघसंस्था र एक हजार दुई सय भन्दावढी व्यक्तिबाट सहयोग प्राप्त भएको छ । प्रयोगशालाका लागि हालसम्म एक करोड रुपैयाँ २० लाख रुपैयाँ भन्दावढी रकम जुटिसकेको सह संयोजक बस्नेतले जानकारी दिए ।

पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरी सरकारलाई हस्तान्तरण गर्न लागिएको एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । मेची अस्पतालको मातहतमा रहने गरी उक्त पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने उनले बताए ।

कार्यक्रममा मोटरसाइकल स्पेयर पार्टस व्यवसायी संघ समिति बिर्तामोडले २५ हजार र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङ्कर कमिटी चारआलीले पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका छन् । कार्यक्रमको सञ्चालन संघका सहसचिव भवानीप्रसाद दंगालले गरेका थिए ।