अन्तर्राष्ट्रिय झापाली समाजले प्रयोगशालाका लागि २५ लाख दिँदै



बिर्तामोड– ‘एकका लागि एक’ अभियानको साझेदार संस्था अन्तर्राष्ट्रिय झापाली समाजले जनस्तरबाट स्थापना गर्न लागिएको पीसीआर परीक्षण प्रयोगशालाका लागि २५ लाख रुपैयाँ दिने भएको छ । आइतवार समाजले अभियानलाई पैसा हस्तान्तरण गर्ने तयारी गरेको हो ।

अभियानको अगुवाईमा झापाको कनकाईस्थित कोटीहोममा रहेको समर्पण राष्ट्रिय अभियानको भवनमा पीसीआर परीक्षण प्रयोगशाला स्थापनाको तयारी भइरहेको छ । प्रयोगशाला स्थापनाका लागि यसअघि झापाको सहकारी अभियानले २५ लाख रुपैयाँ दिएको थियो ।

सहारा नेपाल सहितका संस्थाको अगुवाईमा सुरु भएको एकका लागि एक अभियानमा सहकारी अभियान, कनकाई नगरपालिका, अन्तर्राष्ट्रिय झापाली समाज मुख्य साझेदार छन् । देश विदेशबाट हालसम्म १२७ वटा संस्थाले आर्थिक सहयोगसहित ऐक्यवद्धता जनाएका छन् ।