अन्तर्राष्ट्रिय झापाली समाजद्धारा प्रयोगशालाका लागि २५ लाख रुपैयाँ सहयोग



तस्वीर– विष्णुकुल श्रेष्ठ

बिर्तामोड– ‘एकका लागि एक’ अभियानको साझेदार संस्था अन्तर्राष्ट्रिय झापाली समाजले जनस्तरबाट स्थापना गर्न लागिएको पीसीआर परीक्षण प्रयोगशालाका लागि २५ लाख रुपैयाँ दिएको छ । सोमवार समाजले अभियानलाई चेक हस्तान्तरण गरेको हो ।

समाजका उपाध्यक्ष नवीन पोखरेलले अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेत, साझेदार संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतलाई चेक हस्तान्तरण गरेका हुन् ।

झापामा प्रयोगशालाको अनिवार्यतालाई बुझेर समाजका तर्फबाट सहयोग गरिएको उपाध्यक्ष पोखरेलले बताए । ‘धरान र विराटनगरबाट कहिले रिपोर्ट आउला भनेर कुर्न पर्दैन अब’, उपाध्यक्ष पोखरेलले भने, ‘अभियानसँग सहकार्य गर्न पाउँदा हामी पनि हर्षित छौँ ।’

अभियानको अगुवाईमा झापाको कनकाईस्थित कोटीहोममा रहेको समर्पण राष्ट्रिय अभियानको भवनमा पीसीआर परीक्षण प्रयोगशाला स्थापनाको तयारी भइरहेको छ । प्रयोगशाला स्थापनाका लागि यसअघि झापाको सहकारी अभियानले २५ लाख रुपैयाँ दिएको थियो ।

सहारा नेपाल सहितका संस्थाको अगुवाईमा सुरु भएको एकका लागि एक अभियानमा सहकारी अभियान, कनकाई नगरपालिका, अन्तर्राष्ट्रिय झापाली समाज मुख्य साझेदार छन् ।

देश विदेशबाट हालसम्म १२७ वटा संस्थाले आर्थिक सहयोगसहित ऐक्यवद्धता जनाएका छन् । समाजले आयोजना गरेको रकम हस्तान्तरण कार्यक्रममा अभियानकर्मी शिव कँडेल, पत्रकार मोहनकाजी लगायतले बोलेका थिए ।